• सुकुम्बासीमाथि डोजर चलाउँदा संविधान प्रदत्त अधिकारको ख्याल गरिएन : सांसद राई

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १८, बिहीबार १८:५३ गते
    images

    श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाएका छन्।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सुकुम्बासी बस्ती हटाउने अभियानमा सरकार संवेदनशील बन्न नसकेको बताए।

    उनले भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाए।

    राईले संविधानको धारा १६ ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३७ को आवासको हक, धारा ३६ को खाद्य अधिकार, धारा ३५ को स्वास्थ्य अधिकार, धारा ३३ को रोजगारीको हक, धारा ३१ को शिक्षाको हक, धारा २८ को गोपनीयताको हक, धारा ३९ को बालबालिकाको हक तथा धारा ४२ को सामाजिक न्यायको हकको समेत उल्लङ्घन भएको दाबी गरे।

    उनले सरकारको कदमका कारण कतिपय सुकुम्बासीले बाँच्ने आधार गुमाएर आत्महत्यासमेत गरेको उल्लेख गर्दै त्यस घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

    सांसद राईले विस्थापित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरको अवस्थाप्रति पनि प्रश्न उठाए। त्यहाँ रहेका नागरिकले सम्मानजनक बसोबास, गोपनीयता, पर्याप्त स्वास्थ्य सेवा, औषधि र पोषिलो खाद्यान्नको अभाव झेलिरहेको गुनासो आएको भन्दै सरकारले तत्काल अनुगमन गर्नुपर्ने माग गरे।

    उनले मधुमेह, उच्च रक्तचाप, मुटु तथा फोक्सोका दीर्घरोगीहरू समेत होल्डिङ सेन्टरमा आवश्यक उपचार नपाएको दाबी गरे।

    प्रतिक्रिया दिनुहोस्