फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ मा रहेका क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबिचको खेल प्रतिस्पर्धात्मक बराबरीमा टुङ्गिएको छ ।
शनिबार राति क्यानडाको टोरन्टो रंगशालामा भएको उक्त खेल १-१ को बराबरीमा रोकिएको हो । विश्वकपको सह-आयोजक क्यानडा र युरोपेली क्षेत्रबाट छनोट भएर आएको बोस्नियाबिचको यो खेललाई खेलप्रेमीहरूले निकै चासोका साथ हेरेका थिए । घरेलु मैदान र आफ्ना दर्शकको बलियो समर्थनका बिच मैदान उत्रिएको क्यानडाले सुरुवाती चरणमा गोल खाएर पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए । तर , खेलको २१ औँ मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका जोभो लुकिकले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए । लुकिकको यो गोलपछि घरेलु टोली क्यानडा केही दबाबमा परेको देखियो । पहिलो हाफको बाँकी समयमा क्यानडाले खेलमा फर्किनका लागि केही राम्रा अवसरहरू सिर्जना गरे पनि बोस्नियाको बलियो रक्षापंक्तिका कारण गोल गर्न सकेन र पहिलो हाफ बोस्नियाको पक्षमा १-० मा सकियो ।
पहिलो हाफमा एक गोलले पछि परेको क्यानडाले दोस्रो हाफमा खेलमा फर्किनका लागि निकै ठूलो संघर्ष गर्यो । लगातारको आक्रमण र प्रयासपछि खेलको ७८ औँ मिनेटमा क्यानडाले सफलता प्राप्त गर्यो । उक्त समयमा क्यानडाका स्ट्राइकर साइल लरिनले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए । लरिनको यो महत्त्वपूर्ण गोलपछि टोरन्टो रंगशालामा उपस्थित हजारौँ क्यानेडियन समर्थकहरूमा उत्साह छाएको थियो ।
लारिनको गोलपछि खेलको अन्तिम समयसम्म दुवै टोलीले जितका लागि थप गोल गर्ने प्रयास गरे पनि डिफेन्स लाइन चनाखो बन्दा थप गोल हुन सकेन । अन्ततः दुवै टोलीले निर्धारित समयसम्म १-१ को बराबरी खेल्दै समूह ‘बी’ मा १-१ अङ्क बाँडेका छन् । यो नतिजासँगै दुवै टोलीले विश्वकपमा आफ्नो यात्रा अङ्क जोडेर सुरु गरेका छन् ।

Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्