• images
    images

    विराटको ब्याट चम्किँदा गुजरात ध्वस्त: १८ ओभरमै बेंगलुरुले रच्यो इतिहास

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १८, सोमबार ००:११ गते
    images
    images
    images
    images

    साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल भिडन्तमा बेंगलुरुले गुजरात टाइटन्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित इनिङ खेले भने निशान्त सिन्धुले २० र जस बट्लरले १९ रनको योगदान दिए।

    बेंगलुरुका तर्फबाट घातक बलिङ गर्दै रसिख सलामले ४ ओभरमा २७ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। यस्तै, जोश हेजलवूड र भुवनेश्वर कुमारले २–२ विकेट तथा क्रुनाल पान्ड्याले १ विकेट चट्काए।

    गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्यलाई बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर सहजै पूरा गर्‍यो। बेंगलुरुको जितमा स्टार ब्याटर विराट कोहलीले कप्तानी इनिङ खेल्दै सर्वाधिक ७५ रन बनाएर अविजित रहे। उनले मात्र ४२ बलको सामना गर्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए। उनलाई साथ दिँदै भेनकटेश अय्यरले ३२ रनको योगदान दिए।

    गुजरातका तर्फबाट कसिलो बलिङ गर्ने क्रममा राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानको भागमा १–१ विकेट रह्यो।

    यो ऐतिहासिक जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको इतिहासमा लगातार दुई पटक उपाधि रक्षा गर्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स (२०१० र २०११) र मुम्बई इन्डियन्स (२०१९ र २०२०) ले मात्र यो सफलता हासिल गरेका थिए। बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै आफ्नो पहिलो आईपीएल उपाधि जितेको थियो।

     

    प्रतिक्रिया दिनुहोस्