• जलविद्युत् परियोजनाविरुद्ध स्थानीयको बृहत् आन्दोलन, अरनिको राजमार्गसमेत प्रभावित

    images

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन भोटेकोशी–५ जलविद्युत् परियोजनाविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।

    कालिका हाइड्रोपावर लिमिटेड अन्तर्गत निर्माण भइरहेको परियोजनाको सुरुङ निर्माणका क्रममा गरिने ब्लास्टिङका कारण स्थानीय बस्ती प्रभावित बनेको भन्दै प्रभावितहरूले बृहत् विरोध कार्यक्रम गरेका हुन्।

    स्थानीयका अनुसार ब्लास्टिङका कारण ठूलो आवाज र भूकम्पजस्तै कम्पन हुने गरेको छ। बाह्रबिसे नगरपालिका वडा नं. ३, ४, ५, ८, ९ तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ का केही बस्तीमा घरहरू चर्किन थालेपछि स्थानीय त्रसित बनेका छन्। वृद्धवृद्धा, बालबालिका तथा अशक्त व्यक्तिहरूमा समेत डर र तनाव बढेको स्थानीयको गुनासो छ।

    विरोध कार्यक्रममा सहभागी स्थानीयहरूले परियोजनाविरुद्ध नाराबाजी गर्दै आफ्नो जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। आन्दोलनका क्रममा बाह्रबिसे पुल क्षेत्रमा केही समय सवारी आवतजावतसमेत रोकिँदा अरनिको राजमार्गको यातायात सेवा प्रभावित बनेको थियो।

    आन्दोलनरत स्थानीयहरूले ब्लास्टिङ कार्यलाई वैज्ञानिक र सुरक्षित ढंगबाट सञ्चालन गर्न तथा क्षतिग्रस्त घरहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

    यता बाह्रबिसे नगरपालिकाले समस्या समाधानका लागि जेठ ४ गते हाइड्रोपावर पक्ष र आन्दोलनकारी प्रतिनिधिबीच वार्ताका लागि बोलाएको जनाएको छ। नगरपालिकाले संवादमार्फत समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्