• सुकुम्बासी बस्ती हटाउने ठूलाे अपरेशन सुरु

    images

    प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्तीहरू हटाउने अभियानलाई तीव्रता दिएका छन् । उनले बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आउँदो शनिबार र आइतबारदेखि नै बस्ती खाली गराउने अभियान सुरु गर्न स्पष्ट निर्देशन दिएका हुन् ।

    हालै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा सार्वजनिक जमिन अतिक्रमण गरी बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । स्रोतका अनुसार बैठकमा काठमाडौंबाटै अभियान सुरु गरेर क्रमशः देशभर विस्तार गर्ने रणनीतिबारे विस्तृत छलफल भएको थियो ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अभियान सफल बनाउन सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसका लागि आवश्यक जनशक्ति परिचालन, स्थानीय तहसँग समन्वय, तथा सम्भावित विरोध व्यवस्थापनका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ।

    प्रधानमन्त्री शाहले बैठकमा भनेका थिए, “अतिक्रमित सुकुम्बासी बस्ती हटाउने काम अब सुरु गर्नुपर्छ । यही शनिबार र आइतबार काठमाडौंबाटै अभियान सुरु गर्नू। स्थानीय सरकारसँग समन्वय गरेर प्रभावकारी रूपमा काम अगाडि बढाउनू ।”

    यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यतिबेला स्थानीय बासिन्दाको कडा विरोध तथा तत्कालीन सरकारको असहयोगका कारण सो अभियान पूर्ण रूपमा सफल हुन सकेको थिएन। अहिले भने संघीय सरकारकै नेतृत्वमा पुगेपछि उनले सोही अभियानलाई अझ कडाइका साथ अघि बढाएका छन् ।

    प्रधानमन्त्रीको निर्देशन सार्वजनिक भएसँगै काठमाडौंबाटै यसको प्रभाव देखिन थालेको छ । विशेषगरी थापाथली क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका बासिन्दाहरूमा त्रास फैलिएको छ। डोजर चल्ने हल्ला फैलिएपछि बिहीबार साँझदेखि नै धेरैले आफ्ना सामानहरू सार्न सुरु गरेका छन् भने शुक्रबार बिहानसम्म पनि बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ।

    स्थानीय बासिन्दाहरू अचानक सुरु हुन लागेको अभियानका कारण अन्योल र चिन्तामा देखिएका छन्। कतिपयले वैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती हटाउनु मानवीय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् भने सरकार भने सार्वजनिक जमिन संरक्षण र व्यवस्थित बसोबासको आवश्यकता रहेको बताउँदै आएको छ ।

    अब शनिबारदेखि औपचारिक रूपमा सुरु हुने भनिएको यो अभियानले काठमाडौंबाट सुरु भएर देशका अन्य अतिक्रमित क्षेत्रहरूमा पनि विस्तार हुने संकेत देखिएको छ। यसले आगामी दिनमा सुकुम्बासी समस्या समाधानतर्फ ठोस कदम चालिने हो कि नयाँ विवाद सिर्जना हुने हो भन्ने विषयमा चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्