जनकपुर । नयाँ वर्षमा घुमफिर र मनोरञ्जन गर्न नयाँ ठाउँ जानेहरुका लागि मधेश प्रदेशको मुटु मानिने जनकपुरधाम घुम्नै पर्ने गन्तव्य हो ।नयाँ वर्षमा पर्यटकीय स्थलका साथै धार्मिक दृष्टिकोणले एक पटक अवलोकन गर्नै पर्ने ठाउँहरुमध्ये जनकपुरधाम पनि प्राथमिकतामा पर्छ ।५२ कुट्टि ७२ कुण्डको सहर जनकपुरधाम धार्मिक नगरीको रुपमा विश्वमै चिनिन्छ । झन देश संघीयतामा प्रवेश गरेदेखि यहाँ भएका भौतिक विकासले पर्यटकहरुकालागि आकर्षणको केन्द्र नै बनेको छ । ०८३ वर्षको आगमनसंगै जनकपुरधाम घुम्न आउनेहरुको संख्या एक हप्ता अघिदेखि नै बढेको छ ।
यि हुन घुम्नै पर्ने आठ गन्तव्यहरु
जानकी मन्दिर :राजा जनकको दरबार भनेर चिनिने जानकी मन्दिर जहाँको संरचनाले यहाँ आउने पर्यटक र श्रद्धालु भक्तजनहरुलाई प्रभावित बनाउने गर्छ । जनकपुरधाम आउने जोकोहीको पनि मनमा पहिला जानकी मन्दिर दर्शन गर्ने नै हुन्छ । जानकी मन्दिर विश्वमै परिचित छ । रामायणमा भगवान राम र माता सीताको विवाह प्रशंगसँग जोडिएको जानकी मन्दिर पर्यटकहरुको पहिलो रोजाई हो ।
मणिमण्डप :जानकी मन्दिरबाट करीब १५ मिनेट टाढा रहेको मणिमण्डप जनकपुरधामको मुजेलियामा रहेको छ । यो त्यही ठाउँ हो जहाँ भगवान राम र माता सीतको विवाह भएको थियो । मैथिली परम्परा अनुसार भएको विवाहमा बनाइएको बेदीस्थान अहिले पनि यथावत छ । सहरभन्दा अलि टाढा रहेको यो स्थानमा आउँदा छ्ट्टै शान्तिको अनुभूति हुन्छ । केन्द्र र प्रदेश सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्य बनाउने अवधारणा ल्याएको छ ।
जनक दरबार :वैवाहिक गन्तव्य बनाउने अवधारणाका साथ सरकारले मणिमण्डपको छेउमै जनक दरबार बनाएको छ । केही वर्ष अघिमात्र निर्माण भएको जनक दरबार मुख्यतः घुम्न आउने, सेल्फि लिने र विवाह समारोह गर्नका लागि उत्तम स्थल हो । यहाँ दैनिक हजारौं पर्यटकहरु भारत र नेपालका विभिन्न स्थानबाट आउने गर्छन ।
नोचा पोखरी : हुनत जनकपुरधाम पोखरीहरुको सहर भनेर पनि चिनिन्छ । सयौं पोखरीहरु भएको जनकपुरधाममा नोचा पोखरी सबैभन्दा ठूलो र शान्त ठाउँमा छ । विमानस्थल भन्दा १० मिनेटको दुरीमा रहेको नोचा पोखरी पुग्दा कुनै छुट्टै संसारमा पुगेको अनुभव हुन्छ । चारैतिर रुख र बिचमा सुन्दर पोखरी, पिकनिक मनाउन आउने, शान्त वातावरण खोज्ने, ध्यान गर्ने, फोटो÷भिडियो सुट गर्नेहरुको लागि यो पहिलो प्राथमिकतामा पर्ने स्थल रहेको छ ।
गंगासागर पोखरी : जनकपुरधामको केन्द्रमा रहेको गंगासागर पोखरीको ऐतिहासिक मान्यता रहेको छ । यहाँ हुने दैनिक गंगा आरती हेर्न प्रत्येक साँझ हजारौं पर्यटकहरुको भीड लाग्ने गर्छ । गंगासागर पोखरी छठ पूजाका लागि प्रसिद्ध छ भने यहाँको हरियो पानीमा नौकाविहार गर्न पनि सकिन्छ ।
धनुषाधाम :जनकपुरधाममा करिब ४५ मिनेट टाढा रहेको धनुषाधाम हरेक हिन्दू धर्मावलम्बिहरुले एक पटक पुग्नैपर्ने स्थान हो । रामायणमा सीता स्वयम्बरको बेला भगवान रामले तोडेको धनुषको एक टुक्रा यही स्थानमा छ । यो टुक्रा खसेको स्थानमा धनुष मन्दिर रहेको छ भने, धनुषको टुक्रा अहिले पनि जीवन्त अवस्थामा छ ।
जनकपुरको ट्रेन : नेपालको एक मात्र रेल, जनकपुरधाममै छ । दैनिक तीन पटक चल्ने रेलमा सवार भई एक पटक अनुभव गर्न भनेर मात्र यहाँ दैनिक देशका कुना कुनाबाट कयौं पर्यटकहरु आउने गर्छन । जनकपुरबाट भारतको जयनगर पुगेर फेरि फर्किन मात्र जम्मा तीन घण्टा लाग्ने यात्रा अविस्मरिणय मानिएको छ ।
भूतनाथ मन्दिर –स्वर्गद्वारी : जनकपुरधामको गंगासागर पोखरीकै छेउमा रहेको छ भूतनाथ मन्दिर । जसलाई स्वर्गद्वारी पनि भनिन्छ । यहाँ दैनिक कयौं शव जलाईन्छ । हुनु त शव जलाउने स्थलमा जान डर मानिन्छ तर जनकपुरधामको यस स्वगद्वारी भने पर्यटकहरुको आकर्षणको केन्दहरु मध्येको एक हो । स्वर्गद्वारी जति सफा, स्वच्छ र हरियाली भएको स्थान जनकपुरधाममा अन्यत्र छैन । यहाँको सरसफाई र बगैंचामा बस्दा विदेशको कुनै पार्कमा बसेको अनुभव हुन्छ । झन यहाँ रहेको भूतनाथको मन्दिर र भगवान शिव र पार्वतीको विशाल मूर्तिमा दर्शन गर्न र फोटो खिचाउने आउनेहरु भावुक हुने गर्छन ।

chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्