सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विक मृत फेला परेको घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारले प्रदर्शन गरेका छन् ।

बुधबार पीडित परिवार, आफन्त र स्थानीयले खबरदारी र्याली निकाल्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।
र्यालीमा सहभागीहरूले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कडा कारबाही गर’ जस्ता नारासहित प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेका छन् । उनीहरूले छानबिन प्रक्रिया निष्पक्ष, पारदर्शी र द्रुतगतिमा अघि बढाउन माग गरेका छन्।







पीडित परिवारले घटनाबारे सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले बालिका तथा महिलामाथि हुने हिंसा र हत्या जस्ता घटनामा राज्य गम्भीर बन्नुपर्ने भन्दै दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने बताएका छन् ।१६ वर्षीया इनिशा विक ट्युसन पढ्न घरबाट निस्केकी थिइन् । तर केही समयपछि उनी वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।


Bishnu GC 














प्रतिक्रिया दिनुहोस्