तपाईंको मोबाइलमा ह्वाट्सएपको घण्टी बज्छ। स्क्रिनमा देशकै चर्चित नायक वा जनप्रतिनिधिको फोटो देखिन्छ। मेसेज आउँछ— “म अहिले एउटा ठूलो संकटमा छु, फोन उठाउन मिल्ने अवस्था छैन। प्लिज, मलाई यो QR कोडमा ५० हजार पठाइदिनुस्, म भोलि बिहानै फिर्ता गर्छु।”
तपाईं सोच्नुहुन्छ— “यति ठूलो मान्छेले मलाई भरोसा गरेर पैसा माग्यो!” तर होसियार! त्यो मेसेज कुनै संकटमा परेको कलाकारको होइन, तपाईंको भावनासँग खेल्ने एउटा ‘डिजिटल सार्प सुटर’ को हो।
पछिल्लो समय नेपालमा शेलिब्रेटी र जनप्रतिनिधिको नाम प्रयोग गरि ठगि गर्ने गिरोह सक्रिय भएको छ। यो ठगीको जालो कतिसम्म फैलिएको छ भने, यसको सिकारबाट महानगरका उपमेयरदेखि ‘सुपरस्टार’ हरू समेत अछुतो छैनन्। पछिल्लो समय सार्वजनिक भएका यी चार घटना हेर्नुहोस जस्ले ठगीको भयावह चित्र प्रस्तुत गर्छन्:
घटना १: उपमेयरको नाममा ई-सेवाको पासो
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमा नक्कली खाता बनाएर आर्थिक सहयोग मागियो। स्क्यामरले ई-सेवाको क्यूआर कोड नै पठाएर पैसा असुल्ने प्रयास गरेपछि डंगोलले शुक्रबार बिहानै फेसबुकमार्फत स्पष्ट पारिन्— “मेरो नाम र फोटो दुरुपयोग गरी पैसा माग्ने कार्य भइरहेको छ। यो म होइन, कृपया पैसा नपठाउनुहोस्।”
घटना २: ‘आमा बिरामी छिन्’ भन्दै आकाशको नाममा ठगी
अभिनेता आकाश श्रेष्ठको नाम प्रयोग गरेर त झन् ‘इमोसनल ड्रामा’ नै रचियो। स्क्यामरले आकाशको तस्बिर राखेर भाइबर र ह्वाट्सएपमा मेसेज गर्दै लेख्यो— “आमालाई स्ट्रक (Struck) भएको छ, तुरुन्तै २५ हजार चाहियो।” आफ्नै आमाको स्वास्थ्यलाई लिएर अफवाह फैलाइएपछि अभिनेता श्रेष्ठले यस्ता भ्रामक सन्देशको पछि नलाग्न कडा चेतावनी दिए।
घटना ३: स्वस्तिमाका साथीहरूलाई नै निशाना
अभिनेत्री स्वस्तिमा खड्काका नजिकका साथीहरू समेत यो जालोमा परे। उनका साथीहरूलाई नै ह्वाट्सएपमा पैसा माग्दै मेसेज पठाइयो। स्वस्तिमा उक्त सृकृन सर्ट राख्दै भानेकि छिन “मेरो नामको दुरुपयोग भइरहेको छ, नझुक्किनु होला।”
घटना ४: अनमोल केसीको ‘डिजिटल वार्निङ’
यस्तै नियति नायक अनमोल केसीले पनि भोग्नुपर्यो। उनको नक्कली अकाउन्टबाट पैसा मागिएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई सचेत गराउँदै भनेका छन्— “मैले कसैसँग पैसा मागेको छैन, यो पूर्णतया नक्कली हो।”
यतिमात्र होईन दयाहाङ राई, धीरज मगर , केकी अधिकारी जस्ता कलाकारहरूले त अहिले दिनहुँजसो आफ्ना नक्कली प्रोफाइलबाट सजग रहन प्रशंसकहरूलाई चेतावनी दिइरहनुपरेको छ।
आखिर, कसरी चिनिन्छन् यी डिजिटल ठगहरू? कसरी उनीहरूले निशानामा पर्छन्? र यस्तो स्क्यामबाट बच्ने अचुक उपाय के हो? यो रिपोर्टमा हामी यो ठगीको भित्री जालो र यसको मनोवैज्ञानिक पाटोबारे विस्तृतमा चर्चा गर्नेछौँ।
सेलिब्रेटीको नाम प्रयोग गरेर अनलाइन ठगी गर्ने घटना नेपालमा नयाँ होइन, तर अहिले यो प्रवृत्ति यति योजनाबद्ध र मनोवैज्ञानिक बनेको छ कि यसलाई सामान्य “फेक अकाउन्ट” भनेर बेवास्ता गर्न मिल्दैन। यसलाई टेक्निकल भाषामा “सोसल इन्जिनियरिङ स्क्याम” भनिन्न्छ । यहाँ न त तपाईंको मोबाइल ह्याक हुन्छ, न त कसैले तपाईंको पासवर्ड चोर्छ। स्क्यामरले तपाईंको डिजिटल सिस्टममा होइन, सिधै तपाईंको विश्वासमा प्रवेश गर्छ। पीडितले सोच्ने र सत्यता जाँच्ने मौका नपाउँदै उसको “सहयोग गर्ने भावना” लाई प्रयोग गरेर रकम झिक्नु नै यो ठगीको मूल उद्देश्य हो।
यो ठगी प्रायः ह्वाट्सएप, भाइबर वा फेसबुक मेसेन्जरबाट सुरु हुन्छ। अपरिचित नम्बर वा नयाँ अकाउन्टबाट मेसेज आउँछ, तर त्यहाँ प्रोफाइल फोटो र नाम एकदमै परिचित हुन्छ। तर जरुरि छैन ठगले कलाकार कै फोटो र नाम राख्छ , हुन सक्छ तपाईको नजिककै नातागोता वा मिल्ने साथि को नाम बाट नि तपाईलाई म्यासेज आउन सक्छ। सुरुमा निकै सामान्य म्यासेज गरिन्छ— “हेलो”, “सुन्नु भएको छ?” वा सिधै नाम लिएर बोलाइन्छ। यसको मुख्य उद्देश्य पीडित व्यक्ति अहिले मोबाइलमा सक्रिय छ कि छैन र कुरा गर्न तयार छ कि छैन भनेर सुनिश्चित गर्नु हो।
त्यसपछि एउटा ‘इमर्जेन्सी’ परिस्थिति जोड्छ स्क्यामरले — जस्तै: माथिका उल्लेख गरिएको , कोही बिरामी भएको, दुर्घटना भएको जस्ता विषयहरू । यी विषयहरू संयोग होइनन्, बरु निकै सोचविचार गरेर छनोट गरिएका हुन्।
स्क्यामरलाई थाहा छ— यस्तो संवेदनशील र दुखद अवस्थामा मानिसले धेरै प्रश्न सोध्दैन। इमर्जेन्सीको नाममा प्रमाण खोज्नेभन्दा पनि सहानुभूति राख्ने र सहयोग गर्न हतारिने मानवीय स्वभावको उनीहरूले फाइदा उठाउँछन्।
तर तपाईंले ध्यान दिनुभयो भने यी मेसेजहरूको भाषा प्रायः अस्वाभाविक हुन्छ। धेरैजसो स्क्याम मेसेजहरू टुटेफुटेको रोमन नेपाली, गलत स्पेलिङ र अनौठो वाक्य संरचनामा लेखिएका हुन्छन्। कतिपयलाई यो स्क्यामरको कमजोरी लाग्न सक्छ, तर यो वास्तवमा एउटा रणनीति हो। अस्वाभाविक र हतारिएको भाषा प्रयोग गरेर उनीहरूले पीडितलाई मानसिक रूपमा विचलित पार्न र सोच्ने समय नदिई भावनात्मक निर्णयतर्फ धकेल्न खोज्छन्।
जब तपाईं शंका लागेर वा चिन्ताले कल गर्न खोज्नुहुन्छ, तब असली समस्या सुरु हुन्छ। फोन उठ्दैन, वा उठे पनि आवाज आउँदैन र तुरुन्तै काटिन्छ। त्यसको लगत्तै मेसेज आउँछ— “यहाँ नेटवर्क छैन”, “सिग्नल कमजोर छ” वा “म बोल्न सक्ने अवस्थामा छैन”।
यो पनि एउटा ठूलो चाल हो। स्क्यामरलाई राम्रोसँग थाहा छ कि यदि एक पटक आवाज सुनियो भने बोलीको लवज र व्यक्तित्वकै आधारमा उसको पोल खुल्छ। त्यसैले ऊ सधैं मेसेजमै सीमित रहेर खेल खेल्न चाहन्छ।
जब विश्वासको जग बसिसक्छ, तब आउँछ निर्णायक चरणपैसाको माग। अचम्मको कुरा के छ भने, उनीहरूले माग्ने रकम प्रायः धेरै ठूलो हुँदैन। २० हजार, ३० हजार वा ५० हजारसम्म मागिन्छ। यो पनि एक रणनीति हो। सानो रकम देख्दा मानिसले “यति त हो नि, पछि दिइहाल्छन् नि” भनेर सजिलै पत्याउँछन्। र त्यससँगै पठाइन्छ eSewa, Khalti वा बैंकको QR कोड।
अहिलेको डिजिटल युगमा QR कोड भुक्तानीको सामान्य माध्यम बनेको छ, त्यसैले धेरैले यसलाई सुरक्षित सम्झन्छन्। तर यही QR कोड स्क्यामरको सबैभन्दा ठूलो हतियार हो। QR मार्फत पठाइएको पैसा तुरुन्तै एउटा वालेटबाट अर्कोमा, र त्यहाँबाट अर्कोमा सार्न सकिन्छ। यसलाई ट्र्याक गर्न अत्यन्तै कठिन हुन्छ र धेरैजसो अवस्थामा पैसा फिर्ता आउने सम्भावना शून्य रहन्छ।
नेपाल प्रहरीको साइबर ब्युरो प्रवक्ता एसपी दीपक अवस्थीका अनुसार चालु आर्थिक वर्षमा मात्र ब्युरोमा करिब ४ हजार यस्ता ठगीका केस आएका छन् । उनी यसमा कलाकारदेखि सर्वसाधारण सचेत हुनुपर्ने बताउँछन् । अवस्थीका अनुसार १० प्रतिशत अपराधी मात्रै समातिने सम्भावना हुन्छ । बाँकी ९० प्रतिशत समातिन कठिन छ ।
उनी स्रोत अभाव औंल्याउँदै भन्छन्, ‘हाम्रो बैंकसँग फुल टेक्निकल इन्टिग्रेसन छैन । नेपाल युरोप वा अमेरिका पनि होइन । हाम्रो अन्तर्राष्ट्रिय डेटा एक्सचेन्ज कमजोर छ । त्यो कुरा आम जनताले पनि बुझ्नुपर्छ । खालि प्रहरीलाई दोष दिएर मात्र हुँदैन ।’ त्यसकारण उनी हामी आफैं सचेत हुनुको विकल्प नभएको बताउँछन् ।
ठगी गर्नेले आफ्नो नभई अरुको खाता प्रयोग गर्ने भएकाले पत्ता लगाउन गाह्रो हुने उनको भनाइ छ । ‘जुन नम्बर, सामाजिक सञ्जाल प्रयोग गरिएको हुन्छ, त्यो अकाउन्ट उसैको नहुन सक्छ । ह्याक भएको नम्बरबाट अपराध हुन्छ । पीडितले ‘मैले चलाएकै होइन’ भन्छ । तर टेक्निकली त्यो प्रमाणित गर्न सजिलो छैन,’ उनले भने ।
उनका अनुसार अनावश्यक रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने, हरेक ठाउँमा नम्बर, इमेल, पहिचान खुलाउनु नै समस्याको कारण हो । ‘धेरैले लाखौं पैसा गुमाएका छन् । त्यो पैसा सजिलै आएको होइन, धेरै मेहनतको फल हो । त्यसकारण सुरुमा त आफू जोगिनु नै उत्तम हो,’ उनी आग्रह गर्छन् ।
यो डिजिटल महामारीबाट बच्ने एउटै अचुक उपाय भनेको ”पुष्टि’ (भेरिफिकेसन) हो। जतिसुकै नजिकको वा प्रतिष्ठित व्यक्तिले पैसा मागे पनि मेसेजको भरमा मात्र कहिल्यै निर्णय नगर्नुहोस्। उसको आधिकारिक मोबाइल नम्बरमा सिधै फोन गर्नुहोस् र आवाज नसुनी वा भिडियो कल नगरी एक रुपैयाँ पनि नपठाउनुहोस्।
अस्वाभाविक भाषा, गलत स्पेलिङ र “अहिले नै चाहियो” भन्ने दबाब नै स्क्यामरको पहिलो चिन्ह हो। सम्झनुहोस्, तपाईंको सानो सजगताले तपाईंको बैंक खाता मात्र होइन, सामाजिक सञ्जालमा हुने विश्वासको सुन्दर संसारलाई पनि जोगाउन सक्छ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्