नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई विद्यार्थी जीवनमा राजधानी प्रवेश गर्दा फाटेको झोला सिलाइदिएर मानवता, सरलता र आत्मीयताको उदाहरण प्रस्तुत गर्ने भोटे दमाई दाइको निधन भएको छ।
जीवनको कठिन मोडमा सानो तर अमूल्य सहयोग गरेर ठूलो प्रेरणा दिने भोटे दाइप्रति नेपाल प्रहरीका महानिरीक्षक कार्कीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै उनले लेखेका छन्,
“म विद्यार्थीका रूपमा काठमाडौं आउँदा फाटेको झोला सिलाइदिएर आशीर्वाद दिनुहुने भोटे दमाई दाइको सरलता र मानवता मेरो स्मृतिमा सधैं रहिरहनेछ।”
सानो पेशा भए पनि ठूलो मन बोकेका भोटे दमाईले देखाएको सहयोग र सद्भावले समाजमा मानवीय मूल्य कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको महानिरीक्षक कार्कीको भनाइ छ।
भोटे दाइको निधनले एक साधारण तर असाधारण व्यक्तित्व गुमेको भन्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले पनि दुःख व्यक्त गरेका छन्।
केही दिनअघि मात्र महानिरीक्षक कार्की आफ्नो पदोन्नतिको खुसी साट्न गुल्मीको मालिका गाउँपालिका पुगेर भोटे दमाई दाइको घर पुगेका थिए। नेपाल प्रहरीको जिम्मेवारी सम्हालेको केही दिनमै कार्की त्यही गाउँ पुगेका थिए, जहाँ युवक उमेरमा काठमाडौं जाँदै गर्दा उनले बोकेको फाटेको झोला सिलाइदिने व्यक्ति भोटे दमाई दाइ थिए। त्यही झोला बोकेर कार्की पहिलोपटक काठमाडौं पुगेका थिए।
भोटे दमाई यसकारण दानबहादुर कार्कीका लागि विशेष बने। त्यसबेला कार्की कक्षा ९ मा अध्ययनरत थिए। नजिकका आफन्त र काकाहरूले गाउँमा मात्र पढेर केही नहुने भन्दै शहर गएर पढ्न प्रेरित गरे पनि परिवार भने उनलाई गाउँमै पढाउन चाहन्थ्यो।
तर, विद्रोही स्वभावका दानबहादुर शहर छिर्ने अडानमा थिए। घरमा सानो पसल थियो, जहाँ सामान्य कपडाहरू पाइन्थे। परिवारको अनुमति नपाएपछि उनले एउटा च्यातिएको झोला लिएर भोटे दमाईकोमा पुगे र भने, यो छाताको कपडा हो, यहीले यो च्यातिएको झोला टालिदिनुपर्यो।’
भोटे दमाईले झोला सिलाइदिए। त्यही झोला बोकेर दानबहादुर काठमाडौं पुगे। उनले कक्षा ९ र १० ललितपुरस्थित माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे।
बेलैमा काठमाडौं पुगेकाले पढाइसँगै अवसरका बारेमा पनि उनलाई जानकारी मिल्दै गयो। भोटे दमाईले सिलाइदिएको झोला बोकेर समयमै काठमाडौं पुगेकाले आजसम्मको यात्रामा उनको ठूलो योगदान रहेको कार्की सम्झन्छन्।
दानबहादुर कार्की २०५४ चैत १८ गते नेपाल प्रहरीमा नियुक्त भएका थिए। प्रहरी निरीक्षकका रूपमा संगठनमा भर्ना भएका उनको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो।
लोकसेवा आयोगको परीक्षा दिएर प्रहरी सेवामा प्रवेश गर्ने पहिलो ब्याजमा कार्की परेका थिए। उनको नियुक्तिको समय देश द्वन्द्वको अवस्थामा थियो। प्रहरीको आवश्यकता बढी भएकाले त्यही समय नियुक्ति भएको थियो, जसलाई कार्की जीवनको महत्वपूर्ण मोडका रूपमा सम्झन्छन्।
‘मैले सधैं मुलुकलाई शिरमा राखेर काम गरेको छु,’ कार्की भन्छन्, ‘प्रहरीको काम प्रहरीले मात्र गरेर हुँदैन। नागरिक र प्रहरीको आपसी सहयोगबाट मात्र कानुनको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ।’


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्