images
  • सईलाई समात्ने नाममा गोपनीयता धज्जी उडाउनेहरू उल्टै फस्दै: भिडिओ खिचेर भाइरल बनाउनेको खोजी तीव्र

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र २, मंगलवार १५:१४ गते
    images

    धुलिखेल। काभ्रेको नमोबुद्ध बजारस्थित एक होटलको कोठामा घुसेर भिडिओ खिच्ने र चरित्र हत्या गर्ने युवाहरूलाई प्रहरीले खोजिरहेको छ। भकुण्डेबेसी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग आपसी सहमतिमा होटलमा बसेको अवस्थामा स्थानीय युवाहरू मध्यरातमा कोठाभित्र घुसेर भिडिओ खिचेका थिए।

    विवाहित सई श्रेष्ठ र पूर्वम्यादी प्रहरी रहेकी अविवाहित युवतीलाई ‘रङ्गेहात पक्राउ गरिएको’ दाबी गर्दै उनीहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। साथै, उनीहरूको दृश्य भिडिओमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

    व्यक्तिगत गोपनीयताको हक उल्लङ्घन भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि काभ्रे प्रहरीले भिडिओ खिच्ने र फैलाउनेहरूको खोजी तीव्र बनाएको छ। प्रहरीले खोजी थालेपछि संलग्न युवाहरू फरार भएका छन्। घटनापछि नियन्त्रणमा लिइएकी युवतीलाई भने सामान्य सोधपुछपछि छाडिएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविन कार्कीका अनुसार कुनै पनि पुरुष र महिला सहमतिमा होटलमा बस्नु उनीहरूको व्यक्तिगत मामिला हो। सर्वसाधारण आफैंले होटलमा छापा मार्ने, मानिस पक्राउ गर्ने र भिडिओ खिचेर सार्वजनिक गर्ने कार्य पूर्ण रूपमा गैरकानुनी भएको उनले बताए। यसरी वैयक्तिक गोपनीयता भङ्ग गर्नेहरूमाथि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

    अर्कोतर्फ, घरमा श्रीमती हुँदाहुँदै अन्य युवतीसँग बसेर अनैतिक आचरण देखाएको भन्दै सई श्रेष्ठमाथि पनि विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ। ड्युटी समय बाहिर र आपसी सहमतिमा भएको घटना भएकाले यसलाई गम्भीर अपराध मानिनसकिए पनि, आफ्नै कार्यक्षेत्रमा यस्ता कार्य गर्दा प्रहरी सङ्गठनको छवि र विश्वसनीयतामा असर परेको एसपी कार्कीले बताए।

    प्रहरी स्रोतका अनुसार सई श्रेष्ठ र स्थानीय युवाहरूबीच पहिलेदेखि नै विवाद थियो। खोला आसपासका सर्वसाधारणले घर बनाउन निर्माण सामग्री लैजान खोज्दा सईले रोक लगाएका कारण स्थानीय आक्रोशित थिए। सोही रिस फेर्न उनीहरूले सईको निजी जीवनमा हस्तक्षेप गरी भिडिओ बनाएको अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्