• images

    वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २०, बुधबार २२:५९ गते
    images

    आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।

    उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो । त्यसैगरी बाजुरा घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । उनलाई साउन २० गते काठमाडौँको वडा नं. ११ बाट पक्राउ गरिएको हो ।

    कास्की स्थायी घर भई हाल टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारले रोमानिया पठाउने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौंको वडा नं. २६ बाट पक्राउ गरिएको हो ।

    पाँचथर घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेलले युएई पठाउने प्रलोभन देखाई ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौंको वडा नं. ९ बाट पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार यी व्यक्तिहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गर्ने तर लामो समयसम्म नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ । पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्