• images

    सुस्तामा भएको के हो ?

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १८, सोमबार ०९:३२ गते
    images

    काठमाडौं । पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्रमा नेपाल भारत सीमा सिमांकनको कार्य हालसम्म भइनसकेको र सो नहुन्जेलसम्मका लागि द्विपक्षीय संयन्त्रबाट यथास्थितिमा राख्ने (maintain status quo) सहमति भएको थियो । तसर्थ हाल सिमांकन भइनसकेको अवस्थामा दुवै पक्षको तर्फबाट भिन्नाभिन्नै दाबी रहेको छ । सोही स्थानमा यही १५ साउनको १०ः४० बजे नारायणी नदीको बाँध इलाकामा भारतीय पक्षले स्ट्याटस–को मानेको भेलरको रुखदेखि पुरानो बाँधतर्फ नेपालतर्फको जमिनमा स्थानीय बासिन्दाहरू अन्दाजी २०० जनाको संख्यामा जम्मा भई नदीको बहाव बढेमा बाढी आउने सम्भावना भएको भनी बाँध बनाउनका लागि कोदालो र फरुवा प्रयोग गरी खनेका थिए ।

    सोही दिन साढे १२ बजे जेसीबी प्रयोग गरी नजिकको माटो खनेर अस्थायी बाँध बनाउने कार्य गरिरहेकोमा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीको टोली गई स्थानीयहरूलाई सम्झाई बुझाई गरेको थियो ।

    सो स्थानमा बिहार राज्य, पश्चिम चम्पारण जिल्ला बगाहा स्थित भारतीय सशस्त्र सीमा बल २१ बटालियनबाट निमित्त कमाण्डेन्ट सुरेश शर्माको टोली आई स्ट्याटस–को कायम राख्ने गरी नेपालतर्फ काम गर्न अवरोध नभएको भनी जानकारीसमेत गराइएको थियो । सोपश्चात् भेलरको रुखबाट पश्चिम नेपालतर्फ अन्दाजी २५ मिटर जग्गा छोडी अस्थायी बाँध बनाउने कार्यसमेत भइरहेको थियो ।

    यसैबीच भारतीय पक्ष फर्केपछि स्थानीयले भारतीय पक्षले स्ट्याटस–को मानेको भेलरको रुख नजिक ५/६ ट्याक्टर माटो थुपारेका थिए । सोही विषयमा १७ साउनको दिउँसो ३ः४५ बजे सो भेलरको रुख नजिक थुपारी राखेको माटो सशस्त्र प्रहरी बल नेपाल बीओपी. सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक वसन्त पण्डितको टोली र सुस्ता गाउँका स्थानीय अगुवा सिद्ध साधुसहित ७ जना स्थानीयको सहभागितामा सम्म्याएर ४ बजेर २० मिनेट जाँदा टोली फिर्ता भएको स्थानीयहरूले बताएका छन् ।(आजको राजधानी दैनिकमा खबर छ )

    प्रतिक्रिया दिनुहोस्