• images

    शान्त बन्दै तराईं: धनुषाको निषेधाज्ञा हट्यो

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १८, सोमबार ०९:१६ गते
    images

    जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।

    प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा उक्त निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस्