सुर्खेत र नेपालगञ्जका सहरमा निकासी भइरहेको काँचो जुम्ली स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । काँचो स्याउ जिल्ला बाहिर निर्यात गर्न नदिने निर्णयबमोजिम नपाकेको अवस्थामा लैजान लागेको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो ।
कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन र स्थानीय कृषक व्यापारी लगायत सरोकारवालाको रोहवरमा स्याउको नमुना परीक्षण गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले जानकारी दिए ।
सूचना अधिकारी धामीले भने, ‘स्याउ नपाक्दै निर्यात हुन थालेपछि प्रहरीले रोकेको हो ।’ उनका अनुसार रिफ्र्याक्टोमिटरमार्फत् स्याउको गुलियोपना परीक्षण भएको थियो । १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा माथि रहेको थियो । ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस जातका स्याउको गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै देखिएको थियो ।
पटकपटक स्याउको गुणस्तर खस्किने भन्दै पाकेको स्याउ मात्र जिल्ला बाहिर निर्यात गर्न भनिएको थियो । तर स्याउ किसान र व्यापारीले नपाकेको स्याउ नै लैजान थालेपछि कडा निगरानी थालिएको छ । बजार निकासीका लागि कम्तीमा पनि ११ प्रतिशत वा त्यसभन्दा माथि गुलियोपना भएको स्याउ उपयुक्त मानिने गर्छ । प्रहरीले नियन्त्रणमा लिएकोमध्ये १५० कार्टुन स्याउमा मापदण्डअनुसार गुलियोपना देखिएकाले स्याउको निकासी र बजार व्यवस्थापनका लागि समन्वय गरेर पठाउने निर्णय भएको सूचना अधिकारी धामीले बताए ।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्