सुनसरी घटनापछि देशका विभिन्न स्थानमा देखिएको तनावका बीच मकवानपुरमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार हेटौंडामा बृहत् सद्भाव र्याली सम्पन्न गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र विश्व हिन्दु सङ्घ मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न ¥यालीमा मकवानपुर निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवकुमार काफ्ले तथा सशस्त्र प्रहरी बल नेपाल नं। १४ बाहिनी मकवानपुरका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्माण खड्कालगायत विभिन्न राजनीतिक दल, सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
¥यालीका सहभागीहरूले धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक एकता सुदृढ बनाउन, जातीय तथा धार्मिक सद्भावलाई अझ मजबुत बनाउन र कुनै पनि अफवाह वा उक्साहटमा नलाग्न सबैसँग आग्रह गरेका थिए।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मकवानपुरलाई सद्भाव, सामाजिक एकता र जातीय द्वन्द्वमुक्त जिल्लाका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सबै समुदायबीच आपसी विश्वास, सहिष्णुता र सहकार्य कायम रहनु नै शान्तिपूर्ण समाज निर्माणको आधार भएको उल्लेख गर्दै सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिप्रति सचेत रहन सबै पक्षलाई आग्रह गरे।
देशका केही जिल्लामा प्रदर्शन र तनाव देखिएका बेला मकवानपुरमा भने शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै बृहत् सद्भाव ¥याली सम्पन्न भएको आयोजकले जनाएको छ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्