• images

    एमाले सांसद पद्मा अर्यालद्वारा सरकारको आलोचना, सुनसरी घटनाबारे छानबिन र शान्तिका लागि पहल गर्न आग्रह

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १४, बिहीबार २३:३३ गते
    images

    नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनसरीमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले घाइते स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार निःशुल्क र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले दंगा नियन्त्रण दमनबाट नभई संवाद, योजना र विश्वास निर्माणबाट गर्नुपर्ने बताइन् । राज्य शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न असफल भएको उनको आरोप थियो ।

    ‘दंगाको नियन्त्रण दमनबाट होइन, संवाद र विश्वासबाट हुनुपर्छ । राज्यले त्रास सिर्जना गर्ने काम गर्दा घटनाले थप उत्तेजना पाउन सक्छ,’ उनले भनिन् ।

    सांसद अर्यालले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै उत्तेजना, आवेग र प्रतिशोधले समस्या समाधान नहुने बताइन् । उनले सामाजिक तथा धार्मिक क्षेत्रका अगुवा, स्थानीय बासिन्दा र सरोकारवालालाई शान्ति र सद्भाव कायम गर्ने अभियानमा लाग्न आग्रह गरिन् ।

    उनले विगतका घटनामा तत्कालीन सरकारका प्रमुख र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठाउनेहरूले अहिले सुनसरी घटनामा पनि जवाफदेहिता लिनुपर्ने बताइन् ।

    ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने भनिएको थियो । आज सुनसरीमा गोली चल्दा र मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन?’ उनले प्रश्न गरिन् ।

    अर्यालले संकटका बेला प्रधानमन्त्री जनतामाझ उपस्थित हुनुपर्ने बताउँदै प्रधानमन्त्री पद केवल औपचारिकताका लागि नभएको टिप्पणी गरिन् । उनले सरकारसँग सहकार्य गरेर देशमा शान्ति र सद्भाव कायम गर्न एमाले तयार रहेको पनि बताइन् ।

    उनले कैलालीको टीकापुर, रौतहटको गौर, बाँकेको नेपालगन्ज, कपिलवस्तु, वीरगन्ज र मोरङलगायतका स्थानमा विगतमा भएका घटनाको स्मरण गर्दै सबैलाई एकताबद्ध गर्ने साझा भावना आवश्यक रहेको बताइन् ।

    बैठकमा उनले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारले शीघ्र ध्यान दिनुपर्ने माग गरिन् । वर्षायाममा सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि उनले आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस्