राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई वरिष्ठ नेता मनोनित गरिएको हो ।
बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम पार्टी सचिवालय पनि गठन गरेको छ । सचिवालयमा सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने निर्णय गरिएको छ ।
बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमजोरीहरूबाट सिक्दै समग्र प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट सम्बन्धी कार्यविधि र विभाग सम्बन्धी कार्यविधि पारित गरेको जनाएको छ । ती दस्तावेजमा केन्द्रीय समिति सदस्यहरूबाट श्रावण १८ गते साँझ ५ बजेसम्म प्राप्त हुने संशोधन सुझावहरू समावेश गरिने जनाइएको छ ।
पार्टीले विभागीय नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट सम्बन्धित विभागको लक्ष्य र रूपरेखासहित ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरेको छ ।
सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन तथा पार्टीसँग समन्वय प्रभावकारी बनाउन प्रत्येक महिनामा कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा मन्त्रीहरूसँग अनिवार्य छलफल गर्ने निर्णय बैठकले गरेको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा मनाउने निर्णय गर्दै कार्यक्रम आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तथा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न र आवश्यक सहजीकरण गर्न सबै तहका पार्टी कार्यालयमा नियमित उपस्थिति रहने संयन्त्र लागू गर्ने निर्णय पनि गरिएको छ । यसअन्तर्गत केन्द्रीय कार्यालयमा दैनिक दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिने जनाइएको छ ।
सामाजिक सञ्जालको प्रयोगका विषयमा पनि बैठकले निर्देशिका जारी गर्दै आत्महत्या र आत्मदाहजस्ता संवेदनशील घटनासम्बन्धी सामग्री कुनै पनि सामाजिक सञ्जालमा साझेदारी वा प्रसारण नगर्न पार्टीका सबै तहका सदस्यहरूलाई निर्देशन दिएको छ ।
यसैबीच, बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्