जिल्ला प्रहरी कार्यालय सल्यानमा ११ महिनाको छोटो तर असाध्यै अविस्मरणीय कार्यकाल बिताएर सरुवा भएका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीको बिदाइले यतिबेला सिंगो सल्यान जिल्लालाई नै निकै भावुक बनाएको छ।
राज्यले सुम्पेको अपराध नियन्त्रण र शान्ति सुरक्षाको बर्दीधारी जिम्मेवारी मात्र पूरा नगरी सल्यानमा रहँदा उनले जुन तहको सामाजिक र मानवीय सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरे, त्यसैको परिणामस्वरूप आज उनको बिदाइमा स्थानीय दुःखी–पीडित नागरिकका आँखा ओसिला बनेका छन् भने सामाजिक सञ्जालमा समेत उनको चौतर्फी प्रशंसा भइरहेको छ।
११ महिनाको छोटो बसाइमा डीएसपी केसी सल्यानी जनताका लागि केवल एक प्रहरी प्रमुख मात्र रहेनन्, बरु उनी सहाराविहीन र दीनदुःखीका असली अभिभावक तथा संकटका सारथी बनेर जनताको मनमनमा बस्न सफल भए।
नेपाल प्रहरीको इतिहास र प्रशासनिक क्षेत्रमा एउटा कर्मचारीको सरुवा हुँदा सिंगो जिल्ला नै यसरी भावुक बन्नु र नागरिकका आँखाबाट आँसु खस्नुजस्ता हृदयस्पर्शी घटनाहरू विरलै देख्न पाइन्छन्। सामान्यतया प्रहरी प्रशासन र नागरिकबीच एउटा कानुनी दूरी हुने गर्दछ, तर डीएसपी केसीले त्यो दूरीलाई मेट्दै आत्मीयताको बलियो पर्खाल खडा गरिदिए।
यस्ता घटनाहरू नेपाली समाजमा विरलै मात्र घट्ने गर्दछन्, जहाँ एकजना बन्दुक र बर्दी बोकेको कमाण्डरको बिदाइमा जनताले आफ्नै परिवारको अभिभावकले छोडेर गएजस्तो गहिरो पीडाबोध गर्छन् र रुन्छन्।
उनको सेवाकालीन मानवीय कार्यको एउटा बलियो र जीवन्त उदाहरण बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ ठन्डाराकी ६६ वर्षीया एकल आमा अम्रिता परियार हुन्, जो वर्षौंदेखि ओत लाग्ने ओछ्यान र सुरक्षित बासको अभावमा छटपटाइरहेकी थिइन्।
ती असहाय आमाको कारुणिक अवस्थालाई बुझेर डीएसपी केसीकै विशेष कमाण्ड, नेतृत्व र सक्रियतामा बस्नका लागि सुरक्षित घर निर्माण गरियो। उनले अम्रिता परियारजस्ता समाजका कैयौँ सीमान्तकृत र बेसहारा आमाहरूको जीवनमा नयाँ उज्यालो थपिदिए।
केसीले प्रहरीको कडा छविभित्र लुकेको एउटा कोमल र संवेदनशील मानवीय मनलाई छताछुल्ल पार्दै सल्यानका कुना–कन्दरामा पुगेर गरिब, असहाय र उत्पीडितहरूको आँसु पुछ्ने काम गरे, जसका कारण उनी दुःख पाउनेहरूका लागि घरदैलोमै आइपुग्ने भगवान् जस्तै सावित भए।
डीएसपी केसीको यो ११ महिनाको कार्यकाल असाध्यै चुनौतीपूर्ण र उतिकै परोपकारी कामहरूले भरिएको थियो, जहाँ उनले पहिचानविहीन बनेर राज्यको सेवा–सुविधाबाट वञ्चित रहेका नागरिकताविहीन विपन्नहरूलाई नागरिकता दिलाउन आवश्यक कानुनी तथा प्रशासनिक पहल गरिदिए। कतिपय दुर्गम गाउँका भत्किएका विद्यालय भवनहरू पुनर्निर्माण गराउन समेत अग्रसरता देखाएर बालबालिकाको भविष्य सुरक्षित बनाउन भूमिका खेले।
त्यति मात्र नभई, दुवै मिर्गौला फेल भई आर्थिक अभावका कारण मृत्युको मुखमा पुगेका स्थानीय नवीन गन्धर्वलाई बचाउनका लागि उनले जिल्ला प्रहरी कार्यालयमार्फत आफैँ अग्रसर भई देश–विदेशबाट आर्थिक सहयोग जुटाएर एउटा नागरिकको अमूल्य जीवन रक्षामा समेत ठूलो योगदान दिए।
सल्यानमा कार्यालय प्रमुखको बसाइमा डीएसपी केसीले कहिल्यै पनि आफूलाई एउटा हाकिममा सीमित राखेनन्, बरु पीडामा परेका गरिब र दुःखीहरूलाई राहत र सहयोग बोकेर उनी आफैँ पटक–पटक उनीहरूको घरदैलोमा पुग्थे, उनीहरूको हालखबर बुझ्थे र आत्मीयता साट्थे।
बिरामी, असहाय र भोकाएकाहरूको घरमा प्रत्यक्ष पुगेर सुख–दुःख सोध्ने उनको यही आत्मीय र जनमुखी शैलीले गर्दा नै आज सल्यानी जनताले आफ्नै परिवारको प्रिय सदस्यझैँ महसुस गर्दै उनलाई आँसुका धारा बगाउँदै बिदाइ गरिरहेका छन्।
हाल जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएका जनप्रिय प्रहरी अधिकृत डीएसपी केसीले सल्यानमा छोडेर गएका गुण र गुनिला कार्यहरू सल्यानी जनताको मनमा सधैँ रहिरहनेछन्। उनले छरेको मानवताको सुवासले दाङमा पनि उस्तै न्याय र न्यायप्रियताको दियो बालिरहने विश्वास गरिएको छ।
डीएसपी केसीले जाँदाजाँदै आफू जहाँ गए पनि गरिब–दुःखीको सेवामा सधैँ खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।बिदा हुनुभन्दा केही दिनअघि ‘चौतारी’सँगको विशेष अन्तर्वार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। केसीको यो भनाइले बिदाइका बेला सिंगो सल्यान जिल्लालाई थप भावुक बनाएको छ।
डीएसपी केसीले सल्यानमा गरेका सामाजिक कामहरु
डीएसपी केसीले जिल्लाका गरिब, दु:खी, बेसहारा तथा टुहुरा बालबालिकालाई विभिन्न किसिमले सहयोग गरेका थिए । कतिपय विपन्न परिवारमा खाद्यान्न, नुन–तेल तथा कपडाको अभाव हुँदा प्रहरीकै गाडीमार्फत राहत सामग्री पुर्याइएको थियो । प्रहरीको गाडी पक्राउका लागि मात्र होइन, सहयोग र आशाको प्रतीक बनेको स्थानीय बताउँछन् ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको छात्रावासमा पुगेर उनले टुहुरा तथा चरम गरिबीमा रहेका बालबालिकालाई जुत्ता, कपडा र झोला वितरण गरेका थिए । सहयोग पाएपछि बालबालिकाले आफूहरूलाई राज्यले सम्झिएको अनुभूति गरेको स्थानीयको भनाइ छ ।
सल्यानकी ७६ वर्षीया पार्वती नामकी वृद्धाको जीवनमा पनि डीएसपी केसीले महत्त्वपूर्ण सहयोग गरे । अभावमा जीवन बिताइरहेकी ती वृद्धाको अवस्था देखेपछि उनले व्यक्तिगत रूपमा सहयोग पुर्याएका थिए । त्यति मात्र होइन, लामो समयसम्म नागरिकताविहीन रहेकी पार्वतीलाई नागरिकता दिलाउन समेत उनले पहल गरेका थिए ।
कालीमाटी गाउँपालिका लक्ष्मीपुरमा ६ महिनामै आमा गुमाएको एक शिशुको पालनपोषणका लागि दूध किन्न समेत समस्या भएपछि डीएसपी केसीले विभिन्न सहयोगी हातहरू जुटाएर ७० हजार रूपैयाँ सहयोग संकलन गरिदिएका थिए ।
वनगाड कुभिण्डे नगरपालिका माझकाँडाका मोहन पुरीका बुबा कारागार चलान भएपछि र आमा घर छाडेर गएपछि उनी बेसहारा बनेका थिए । डीएसपी केसीले उनलाई जनकल्याण विद्यालयको छात्रावासमा भर्ना गराइदिएर अभिभावकत्वको अनुभूति दिलाएका थिए ।
दुवै मिर्गौला फेल भएर उपचाररत नवीन गन्धर्वका लागि उनले जिल्ला प्रहरी कार्यालयमार्फत आर्थिक सहयोग जुटाएका थिए । अर्का बिरामी भीमबहादुर खड्काका लागि पनि आर्थिक सहयोगसँगै जिल्ला अस्पताल सल्यानमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको थियो ।
सल्यानको रिम गाउँमा दलबहादुर विकको घर आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि डीएसपी केसीकै पहलमा आर्थिक सहयोग संकलन गरी घर पुनर्निर्माणमा सहयोग गरिएको थियो । प्रहरी भ्यानमार्फत खाद्यान्न र कपडा समेत पुर्याइएको थियो ।उनले सामाजिक सेवामा मात्र होइन, जिल्ला प्रहरी कार्यालय सल्यानको भौतिक सुधारमा पनि सक्रियता देखाएका थिए ।
कार्यालय रंगरोगन, गार्डेन निर्माण तथा परिसर व्यवस्थापनका काममा उनले विशेष चासो दिएका थिए । स्थानीय स्तरमा बाटो निर्माण र काठे पुल निर्माणमा समेत उनको पहल देखिएको थियो ।
शारदा नगरपालिकामा निर्माण गरिएको काठे पुल एक वृद्ध आमाबाट उद्घाटन गराइएको दृश्य स्थानीयले अहिले पनि स्मरण गर्ने गरेका छन् ।
स्थानीयका अनुसार त्यो पुलले केवल दुई किनारा मात्र होइन, प्रहरी र जनताबीचको सम्बन्ध पनि जोडेको थियो ।डीएसपी केसीको सरुवापछि उनी सल्यानबाट बाहिरिए पनि उनले कमाएको सम्मान, विश्वास र माया भने सल्यानीहरूको मनमा जीवित रहने स्थानीय बताउँछन् ।
हेर्नुहोस् भिडियो

chautaripatrika 














प्रतिक्रिया दिनुहोस्