• भारतले नेपाली चियाको आयात परीक्षणमा आंशिक सहजीकरण गर्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ६, बुधबार १९:३२ गते
    images

    भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो ।
    यसअघि टी बोर्ड इन्डियाले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गर्दै आएका थिए ।
    नयाँ संशोधित निर्देशनअनुसार भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात हुने चियाको परीक्षण तत्कालका लागि टी बोर्डले नगर्ने भएको छ । यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण र भन्सार विभागले जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्ने जनाइएको छ ।
    टी बोर्डले जारी गरेको सूचनामा पुनः निर्यातका लागि ल्याइने चियाको गुणस्तर परीक्षण भने यथावत रहने उल्लेख गरिएको छ । साथै, सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    भारतीय निकायको यो निर्णयपछि नेपाली चिया निर्यातमा देखिएको अन्योल केही हदसम्म हट्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्