वेश्यावृत्तिका लागि प्रसिद्ध कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकको उद्धार गरिएको छ ।दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरिएको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
‘१४–१५ बर्षका उनीहरु नुवाकोट जिल्लाका हुन् । उनीहरुलाई शुक्रबार काठमाडौंस्थित महिला, वालवालिका तथा ज्येष्ठ मन्त्रालय, वाल अधिकार परिषद, नेपाल प्रहरी मानव वेचविखन अनुसन्धान परिषदलगायतका निकायहरुको उपस्थितिमा नेपाल सरकारलाई जिम्मा लगाएका छौं,’ जोशीले भने ।उनीहरुका विषयमा थप अनुसन्धान गर्ने, पालनपोषण गर्ने साथै उनीहरुको भविष्यका लागि आवश्यक समन्वयन गर्ने विषयामा पनि छलफल भएको जोशीले बताए ।
दिल्लीस्थित नेपाली दूतावासको अनुरोधमा ’किन इन्डिया’को टोली ओडिसाको राजधानी भुवनेश्वर पुगेर दुई जना नेपाली बालिकालाई बिहीबार राति नेपाल ल्याइ ल्याइएको हो ।जोशीका अनुसार भारतमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई उद्धार गरी ल्याइएको हो । ‘दुवै जना मानसिक र शारीरिक रूपमा कमजोर छन् । उनीहरूको स्वास्थ्य परीक्षण र आराम चाहिएको छ,’ जोशीले भने ।
१४ वर्षीया नुवाकोट–१ (सांकेतिक नाम)ले आफू ९ कक्षामा पढ्दै गर्दा सोनागाछी पुर्याइएको बताएकी छन् । उनले घरको आर्थिक अवस्था कमजोर भएकाले स्कुल पढ्दा पढ्दै काम खोजिरहेको बेला गाउँमा भेटिरहने एक जना युवकको सम्पर्कबाट आफू भारत पुगेको बताइन् । ‘म पढाइसँगै काम पनि गर्न चाहन्थेँ । दिउँसो पढ्न पाइन्छ, राति प्याकिङको काम गर्नु छ भनेर मलाई काठमाडौं ल्याइयो,’ उनले सुनाइन्, ‘हेटौंडासम्म पुगेको मलाई थाहा छ । त्यसपछि मैले थाहा पाइनँ । एकैचोटि सिलिगुडी पुर्याइएको रहेछु ।’
उनी सानै हुँदा आमा बितेकी थिइन् । घरमा बाबा, सानो भाइ र बहिनी रहेको उनले सुनाइन् । ‘घरको स्थितिले काम गर्नुपर्ने बाध्यता थियो । सिलिगुडीबाट ट्रेनमा कोलकाता पुगेपछि ती पुरुषले मलाई एक जना केटी मान्छेको जिम्मा लगाइदिएर उनी हराए,’ उनले सुनाइन्, ‘महिनौं मलाई एउटा फ्ल्याटमा राखियो, काम दिइएन । राम्रो पारिश्रमिक भएको काम छ भनेर मलाई पछि त गलत ठाउँमा पुर्याइयो । सोनागाछीको १५ न. नेपाली कोठीमा मलाई पुर्याइएको रहेछ ।’ गत वर्ष दसैँतिहार सकेर कात्तिकतिर आफूले घर छाडेको उनी सम्झिन्छिन् ।

Bishnu GC 











प्रतिक्रिया दिनुहोस्