बरु कालले छोडला तर अहिलेको सरकारले छोड्दैन ।नेपाली राजनीतिमा लामो समयसम्म एउटा शक्तिशाली रूपमा उदाएको नेकपा (एमाले) यतिबेला इतिहासकै गम्भीर ‘साँढे सातको दशा’ बाट गुज्रिरहेको छ। शक्ति, सत्ता र सङ्गठनको दम्भले भरिएको पार्टीका लागि २०८२ साल केवल पात्रोको परिवर्तन मात्र रहेन, बरु यो एउटा यस्तो विन्दु बन्यो जहाँबाट एमालेको ओरालो यात्रा तीव्र रूपमा सुरु भयो।
राजनीतिक र कानुनी सङ्कटका बीचमा एमालेलाई अहिले अर्को भौतिक धक्का लागेको छ— च्यासलस्थित केन्द्रीय कार्यालय खाली गर्ने निर्देशन। ललितपुरको च्यासलमा रहेको सरकारी जग्गाको भोगाधिकार सम्बन्धी कानुनी प्रक्रिया पूरा नभएको भन्दै सरकारले कार्यालय हटाउन आदेश दिएपछि एमाले अहिले ‘घर न घाट’ को अवस्थामा पुगेको छ।
मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै सरकारी जग्गाको भोगाधिकार प्राप्त गरेर पनि हालसम्म ‘लिज’ (भाडा) मा परिणत नगरेका सबै संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ। यस निर्देशनले सीधा प्रहार एमाले मुख्यालयमा पारेको छ, जुन वर्षौँदेखि तुल्सीलाल स्मृति प्रतिष्ठानको नाममा रहेको सरकारी जग्गामा सञ्चालित छ।
किन खाली गर्नुपर्ने भयो त?
मन्त्रालयका अनुसार ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९’ को दफा २१ बमोजिम भोगाधिकारको समय सकिएको र लिजमा परिणत नगरिएको जग्गा स्वतः सरकारको मातहतमा आउने प्रावधान छ। २०७३ र २०७४ सालमै सूचना निकाल्दा पनि लिजका लागि आवेदन नदिने संस्थाहरूको भोगाधिकार स्वतः समाप्त भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।
”भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको शर्तबमोजिम तिर्न बाँकी रकम बुझाएर जग्गा र त्यहाँ निर्मित संरचना तत्काल खाली गर्नू,” मन्त्रालयको सूचनामा भनिएको छ।
१२ रोपनी जग्गाको लफडा
एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको आवरणमा २०५८ चैतदेखि १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा प्रयोग गर्दै आएको छ। मन्त्रिपरिषद्कै निर्णयबाट भोगचलन पाए पनि त्यसलाई कानुनी रूपमा ‘लिज’ मा लैजान एमालेले चासो नदेखाउँदा अहिले यो परिस्थिति सिर्जना भएको हो।
अब एमालेले कि त मन्त्रालयको निर्देशन पालना गर्दै च्यासल छोड्नुपर्नेछ, कि त नयाँ कानुनी लडाइँ लड्नुपर्नेछ। बाढीको जोखिमका कारण यसअघि नै असुरक्षित मानिएको च्यासल कार्यालयलाई सरकारको यो पछिल्लो निर्णयले थप संकटमा पारेको छ।
नेपाली राजनीतिमा एमाले एउटा यस्तो शक्ति हो जसले धेरै उतारचढाव देखेको छ। तर, अहिलेको सङ्कट केवल सत्ता बाहिर बस्नुको पीडा मात्र होइन, बरु यो पार्टीको अस्तित्व रक्षाको अन्तिम लडाइँ जस्तो देखिएको छ। यो ‘साँढे सातको दशा’ बाट पार पाउन एमालेले केवल नारामा मात्र होइन, व्यवहारमै आमूल परिवर्तन र शुद्धीकरणको बाटो रोज्नुपर्ने देखिन्छ।
एमालेको यो वर्तमान सङ्कटलाई यी ६ मुख्य बुँदाहरूमा विश्लेषण गर्न सकिन्छ:
१. चुनावी बज्रपात:- एमालेका लागि २०८२ फागुन २१ गतेको दिन इतिहासकै सबैभन्दा पीडादायी सावित भयो। आम निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित हारले एमालेको ‘नम्बर वन’ पार्टी बन्ने दाबी मात्र चकनाचुर पारेन, बरु यसको जनाधारमै गम्भीर प्रश्न उठाइदियो। नयाँ पुस्ताको उभार र परम्परागत राजनीतिको विकल्प खोजिरहेका मतदाताले एमालेलाई सत्ताको केन्द्रबाट निकै टाढा पुर्याइदिए।
२. अध्यक्ष ओलीको गिरफ्तारी:- चुनावको पराजयले विक्षिप्त बनेको एमालेलाई अर्को ठूलो धक्का तब लाग्यो, जब पार्टीका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली पक्राउ परे। नेपालको राजनीतिमा दशकौँदेखि प्रभाव जमाउँदै आएका ओलीको गिरफ्तारीले राष्ट्रिय राजनीतिमा भूकम्प ल्याइदिएको छ। यसले पार्टीलाई नेतृत्वविहीन जस्तै बनाएको छ भने कार्यकर्ताहरूमा ठूलो मनोवैज्ञानिक त्रास पैदा गरेको छ।
३. ओलीमाथि जारी अनुसन्धान: पक्राउ परेपछि अध्यक्ष ओलीमाथि विभिन्न पुराना र नयाँ फाइलहरूमा अनुसन्धान केन्द्रित गरिएको छ। राज्यका निकायहरूले गहिरो अनुसन्धान जारी राख्दा, यसले एमालेको ‘सुशासन’ र ‘राष्ट्रवाद’ को एजेन्डामाथि गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ। अनुसन्धानको प्रक्रिया लम्बिनुले पार्टीको पुनरागमनको बाटो झन् कठिन बनाएको छ।
४. नेताहरू सम्पत्ति छानबिनको राडरमा:- संकट ओलीमा मात्र सीमित छैन। एमालेका अधिकांश प्रभावशाली र उपल्लो तहका नेताहरू यतिबेला सम्पत्ति छानबिनको कडा राडरमा छन्। सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा धेरैजसो नेताहरूको बैंक खाता र सम्पत्ति विवरणमाथि निगरानी बढाइएपछि एमालेको सिङ्गो नेतृत्व पंक्ति नै प्रतिरक्षात्मक स्थितिमा खुम्चिएको छ।
५. चरम निरासा र अन्तरसंघर्ष:- बाह्य सङ्कटभन्दा खतरनाक पार्टीभित्रको आन्तरिक कलह बनेको छ। हार र नेतृत्वको गिरफ्तारीपछि पार्टीमा चरम निरासा छाएको छ। दोस्रो र तेस्रो तहका नेताहरूबीच नेतृत्वको कमजोरीलाई लिएर औँला ठड्याउने र एक-अर्कालाई दोषारोपण गर्ने क्रम तीव्र भएको छ। यो अन्तरसंघर्षले पार्टी विभाजनको खतरा समेत निम्त्याउन सक्ने विश्लेषण गर्न थालिएको छ।
६. मुख्यालय खाली गर्न निर्देशन

Bishnu GC 















प्रतिक्रिया दिनुहोस्