काठमाडौं । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिएका छन् । जलमार्गमा बिछ्याइएका समुद्री बारुद (माइन) हटाइएको पुष्टि नभएको र जहाजको सुरक्षित आवागमन सुनिश्चित हुन नसकेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
सोमबार आईएमओको परिषद्को १३८औं सत्र उद्घाटनपछि आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै डोमिन्गुएजले जलमार्गमा जहाज आवागमन गर्ने मार्गमा रहेका समुद्री बारुद हटाइएको हो वा होइन भन्नेबारे संगठनले पुष्टि गर्न नसकेको बताए । त्यसैले उक्त मार्गबाट जहाज सञ्चालन गर्दा सुरक्षाको प्रत्याभूति गर्न नसकिने उनको भनाइ छ ।
उनका अनुसार होर्मुज जलडमरूमा हालसम्म धेरै जहाजमाथि आक्रमण भएका छन् । तर, जारी द्वन्द्वका कारण घटनाको अनुसन्धान प्रभावित भएको छ । केही घटनामा समुद्री बारुद, ड्रोन वा क्षेप्यास्त्रमध्ये कुन माध्यमबाट आक्रमण भएको हो भन्ने यकिन हुन सकेको छैन ।
यसैबीच, डोमिन्गुएजले तनाव कम गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले चीनसँग सामुद्रिक क्षेत्रमा सहकार्य थप विस्तार गर्ने आईएमओको योजना रहेको पनि बताए ।
चीनले आईएमओका कार्यक्रम कार्यान्वयन, प्राविधिक क्षमता विकास, परियोजनालाई सहयोग तथा बन्दरगाह पूर्वाधार र प्रविधि विकासमा थप सहयोग गर्ने विषयमा समझदारी भएको उनले जानकारी दिए ।
नोभेम्बर २ देखि ६ सम्म बेलायतको लन्डनमा सञ्चालन भइरहेको आईएमओ परिषद्को पाँचदिने सत्रमा अन्तर्राष्ट्रिय सामुद्रिक मार्गको सुरक्षा र विशेषगरी होर्मुज जलडमरूको अवस्थाबारे छलफल भइरहेको छ ।
यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार इरानले फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले आफ्ना बन्दरगाह, नागरिक जहाज तथा सामुद्रिक पूर्वाधारमा गरेका आक्रमणसम्बन्धी प्रमाणसहितको प्रतिवेदन आईएमओमा बुझाएको छ । उक्त प्रतिवेदन आईएमओका सदस्य राष्ट्रहरूलाई उपलब्ध गराइएको र वर्तमान सत्रमा त्यसबारे समीक्षा हुने जनाइएको छ । सीसीटीभी प्लस


Salina Magar













प्रतिक्रिया दिनुहोस्