कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दुई दिन अघि बाहिरिएको खबरले फेरि एकपटक नेपाली समाजको एउटा कुरुप ऐना देखाएको छ। माइती नेपाल आवधिक गृह कञ्चनपुरले भारतका विभिन्न सहरहरूबाट १० जना महिला तथा किशोरीहरूको उद्धार गरी नेपाल फर्काएको छ।
उद्धार गरिएकामध्ये ८ जना त अबोध बालिकाहरू नै छन्, जसको भविष्य भारतका कोठी र अन्धकार गल्लीहरूमा बन्धक बनाइएको थियो। बिहार, हरियाणा, मुम्बई, हैदराबाद र दिल्ली जस्ता सहरहरूबाट उद्धार गरिएका यी किशोरीहरू कसैका छोरी, कसैका बहिनी र कसैका सपना थिए, जसलाई दलालहरूले पैसाको लोभमा वस्तुसरह विक्री गरिदिएका थिए।
२०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको एक वर्षको तथ्याङ्क हेर्ने हो भने यो संख्या केवल उद्धार गरिएकाहरूको मात्र हो, तर वास्तविकता अझै डरलाग्दो छ।
माइती नेपाल कञ्चनपुरकि संयोजक महेश्वरी भट्टका अनुसार दलालहरूले यी निर्दोष किशोरीहरूलाई भारत पुर्याएपछि भोग्नुपर्ने सास्ती अकल्पनीय छ। कोही यौन शोषणका लागि कोठीमा पुर्याइन्छन् त कोही उत्तेजक नाचहरू नाच्न बाध्य पारिन्छन्। अझै भयानक कुरा त के छ भने, कतिपयलाई त शारीरिक अङ्गहरू विक्री गर्न र श्रम शोषणका लागि समेत प्रयोग गर्ने गरिएको पाइएको छ।
यसै वर्षको अवधिमा गड्डाचौकी नाका र विभिन्न स्थानबाट भारत लैजाँदै गरेको अवस्थामा २०९ जनालाई रोकेर परिवारको जिम्मा लगाइएको घटनाले सिमानामा मानव तस्करहरूको सक्रियता कति भयानक छ भन्ने प्रष्ट पार्छ। दलालहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै कहिले फेसबुकमा मायाको जाल बुनेर त कहिले सहरमा आकर्षक जागिर र सुखको सपना देखाएर किशोरीहरूलाई आफ्नो चंगुलमा पार्ने गरेका छन्।
आखिर कसरी प्रलोभनमा पारिन्छन किशोरिहरु ? हेरौ गोरखापत्रकालागी भवानीदत्त भट्टले तयार पारेको यो रिपोर्ट …
गत भदौ १३ गते दिउँसो १५ वर्षीय एक किशोरीले विवाहित दिदीलाई फोन गर्नका लागि मोबाइलमा नम्बर डायल गरिन। नम्बरको अन्तिम अङ्क गलत डायल भयो, त्यस कारणले नम्बर एक जना पुरुषको नम्बरमा पुग्यो । पुरुषले फोन उठाए पनि किशोरीले फोन काटिन।
त्यो पुरुष हुन्छन बाजुराका ३२ वर्षीय केशव बोहोरा । त्यसपछि बोहराले ती किशोरीलाई नियमित फोन गर्न थाल्छन । दुवै जनाले एक अर्कासँग दुखसुखको कुरा गर्न थाल्छन । उनिहरु आपसमा घुलमिल हुन्छन । माइती नेपाल आवधिक गृह, कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार फोन संवादका क्रममा किशोरीले आमा बितेपछि दोस्रो आमाले पालनपोषण गर्दै आएको र पारिवारिक रूपमा पनि केही तनाव महसुस गर्ने गरेका समस्या बोहोरालाई सुनाउछिन। सोही क्रममा केही दिन पछि बोहोराले किशोरीलाई भेट्नका लागि आग्रह गर्छन । भेट्न आउनका लागि बोहोराले किशोरीको ई–सेवा खातामा गाडी भाडाका लागि रकमसमेत पठाउछन ।
सुरुमा किशोरीलाई मार्तडीमा भेट्नका लागि आउन भन्छन । किशोरि हिँडेपछि आफू मार्तडी नभई केही कामले कैलालीको अत्तरियामा रहेकाले त्यतै आउन भन्छन। गत भदौ २१ गते किशोरी बस चढेर अत्तरिया पुग्छिन।
माइती नेपालका संयोजक भट्टका अनुसार अत्तरिया पुगेपछि उनिहरु ले स्थानीय होटेलमा खानपिन गर्छन । पछि त्यही होटेलमा शारीरिक सम्पर्क पनि हुन्छ । त्यसपछि बोहोराले किशोरीलाई भारत जान राजी गराउछन ।
किशोरी आफ्नो घर फर्किन खोज्छिन तर बोहोराले विभिन्न प्रलोभन तथा धाकधम्की दिएर भारत जानका लागि राजी गराउछिन । तर गड्डाचौकीमा माइती नेपालले स्थापना गरेको सूचना परामर्श केन्द्रलाई शङ्का लागेपछि सोधपुछ गरिएपछि बोहोरा किशोरीसहित पक्राउ परेपछि बोहोरालाई जबरजस्ती करणी र मानव बेचबिखन ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ। संयोजक भट्ट का अनुसार हाल ती किशोरीलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
यसै गरी माइती नेपालले गत भदौ १ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१६, पिपरैयास्थित गोठमा लुकाएको अवस्थामा डडेलधुराको जोगबुडा घर भएका एक १४ वर्षीय किशोरीको उद्धार गरेको छ । भीमदत्त नगरपालिका पिपरैया घर भएका २३ वर्षीय अनिल सुनाहा कात्तिक अन्तिमतिर श्रीमती र एक छोरासँगै ससुराली डडेलधुरास्थित जोगबुडा गएका हुन्छन ।
जोगबुडामा सुनाहाले एक १४ वर्षीय छिमेकी साली नाता पर्ने किशोरीलाई माया जालमा पारेर घुम्नका लागि महेन्द्रनगर लग्छन । किशोरी घरबाट हराएपछि प्रहरी र माइती नेपालमा खोजी गर्दा लुकाइएको अवस्थामा फेला परेको थियो ।
सुनाहामाथि जबरजस्ती करणीको मुद्दा दायर गरिएको माइती नेपालले जनाएको छ । यसै गरी माइती नेपाल आवधिक गृह, कञ्चनपुरले गत वर्षको कात्तिक महिनामा काठमाडौँबाट बेचबिखन गरेर भारतको न्यू मुम्बईस्थित कोठीबाट एक १४ वर्षीय किशोरीको उद्धार गरेको छ । ती किशोरीले घरमा मोबाइल फोन नकिनिदिएको रिसमा आफैँ काम गरेर मोबाइल किन्नका लागि काम खोज्न सँगै पढ्ने साथीसँग आग्रह गरेकि थिईन ।
संयोगवश ती साथीका काका नै दलालको काम गर्दे आएका रहे छन् । साथीले काकालाई भेटाएपछि ती किशोरीलाई भारतमा राम्रो जागिर लगाइने प्रलोभनमा दोस्रो दिन नै भारतस्थित दिल्ली पु¥याउनुभएको थियो ।
दिल्लीमा कोठीमा ती किशोरीलाई बेचेर साथीका काका काठमाडौँ फर्किएका थिए । पछि माइती नेपालले ती युवतीलाई भारतको पुनाबाट उद्धार गरेको थियो ।
यि घटनाक्रमले अब हरेक अभिभावकलाई सोच्न बाध्य बनाएको छ ।हाम्रा छोरीहरू आफ्नै घर र समुदायमा कति सुरक्षित छन्। धेरैजसो अवस्थामा दलालहरू कुनै अपरिचित मान्छे नभई गाउँकै चिनजानका वा आफ्नै नातेदार बनिदिँदा किशोरीहरु सजिलै विश्वासमा पर्ने गरेका छन्।
आफ्नी छोरी कोसँग कुरा गर्दैछिन्, सामाजिक सञ्जालमा को-कोसँग जोडिएकी छिन् र घरबाहिर निस्कँदा उनी कहाँ जाँदैछिन् भन्ने कुरामा अभिभावकको थोरै मात्र पनि ध्यान पुग्न सकेन भने भोलि पछुताउनुको विकल्प रहँदैन।
सिमानामा माइती नेपाल जस्ता संस्थाहरूले उद्धार त गर्लान्, तर समाजबाट यो कलंक मेटाउन अभिभावक स्वयं सचेत बन्नु अनिवार्य छ। कसैले सित्तैमा दिने प्रलोभन, हठात हुने प्रेम विवाह र विना कुनै आधिकारिक प्रक्रियाको रोजगारी सधैँ जोखिमपूर्ण हुन्छन् भन्ने बुझ्न जरुरी छ।
उद्धार गरिएका ती १० जना किशोरीहरूले नयाँ जीवन त पाएका छन्, तर उनीहरूको मनमा लागेको चोट र समाजले हेर्ने दृष्टिकोण अझै चुनौतीपूर्ण छ। त्यसैले, दलालको मीठो बोली र पैसाको चमबाट आफ्ना छोरीहरूको सुरक्षा र शिक्षालाई प्राथमिकता दिनु नै आजको आवश्यकता हो। । आफ्ना सन्तानलाई जोखिमपूर्ण यात्राबाट जोगाउन र दलालहरूको सञ्जाल तोड्न अब हरेक बुबाआमाले चनाखो बन्न जरुरी छ ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्