• दिनभर मजदुरी रातभर पढाई , सत्यनाराणनले झुपडी बाट देखेको डाक्टर बन्ने सपना…

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १५, मंगलवार २३:१० गते
    images

    सिरहाका सत्यनारायण साफीको नाम आज केवल एउटा सफल विद्यार्थीको रूपमा मात्र सीमित छैन; उनी इच्छाशक्ति, अटुट धैर्य र निरन्तर संघर्षको एउटा दस्तावेज बनेका छन्, । अहिले उनले जुन सफलता हासिल गरेका छन् त्यसले अभावमा रुमल्लिएका हजारौँ नेपाली युवाहरूलाई सपना देख्ने साहस र त्यो सपना पूरा गर्ने ऊर्जा थपिदिएको छ ।

    हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको एउटा सानो छाप्रोमा २१ वर्षीय सत्यनारायण साफीले ठूलो सपना देखेका थिए—डाक्टर बन्ने सपना।

    आज त्यही सपनाले आकार लिँदै गर्दा उनी मधेसी दलित आरक्षण कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट हुन सफल भएका छन्।

    सत्यनारायणको बाल्यकाल अन्य सामान्य बालबालिकाको जस्तो सुखद रहेन। उनको परिवारको आर्थिक अवस्था सुरुदेखि नै निकै कमजोर थियो। केही समयसम्म उनका बुवा मधुरी साफी वैदेशिक रोजगारीमा कतारमा रहँदा घरको चुल्हो जसोतसो बलेको थियो। त्यस समयमा सत्य नारायणले आफ्नो सम्पूर्ण ध्यान पढाइमा लगाउन पाएका थिए।

    जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ मा एसइई उत्तीर्ण गरेका सत्यनारायणले विराटनगरस्थित अरनिको उच्च माध्यमिक विद्यालयबाट २०७९ मा विज्ञान संकायमा कक्षा ११–१२ पूरा गरे। त्यसपछि एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न काठमाडौं पुगेका उनी भाइब्रेन्ट कोचिङ सेन्टरमा भर्ना भए। तर त्यहि समयमा बुवा कतारबाट बेरोजगा बनेर फर्केपछि आर्थिक अभावले तीन महिना नबित्दै कोचिङ र काठमाडौं दुवै छाड्नुपर्‍यो उनले।

    जब उनका बुवा विदेशबाट घर फर्किए, त्यस संगै उनको परिवारमा आर्थिक संकटको कालो बादल मडारिन थाल्यो। आम्दानीको बाटो बन्द भएपछि र सञ्चित धन सकिँदै गएपछि एक छाक टार्न पनि धौ–धौ पर्ने अवस्था सिर्जना भयो।

    अब सत्यनारायणले सत्यनारायणले ‘मजदुरी गर्ने कि पढाइ?’ भन्ने कठिन मोडमा निर्णय गर्नुपर्ने भयो । उनले निर्णय लिए दुवै गर्ने। दिनभर ९ घण्टा मजदुरी, रातभर अध्ययन। मजदुरीबाट जोगिएको पैसाले किताब किन्थे र त्यसैको सहारामा घरमै बसेर एमबिबिएसको तयारी गरे।

    उनी दैनिक करिब ९ घण्टा कडा शारीरिक श्रम गर्थे। टन्टलापुर घाम, धूलो र पसिनासँग जुध्दै ज्याला मजदुरी गर्थे । उनले हरेक दिन गरेको त्यो आफ्नो श्रम र पसिनालाई जीविकोपार्जनको माध्यम बनाए। धेरैका लागि दिनभरिको यस्तो थकानपूर्ण कामपछि पढाइका लागि सोच्नु पनि असम्भव जस्तै लाग्न सक्छ, तर सत्य नारायणका लागि त्यो श्रम केवल पेट पाल्ने माध्यम मात्र थिएन, बरु आफ्नो सपनासम्म पुग्ने एउटा कठिन परीक्षा थियो। उनले कामलाई कहिल्यै बाधा मानेनन्, बरु आफ्नो लक्ष्यमा पुग्ने सिँढी ठाने।

    दिनभरिको कामले शरीर चुरचुर भए पनि साँझ घर फर्केपछि उनी कहिल्यै थाकेर सुतेनन् । मजदूरीबाट फर्किएपछि मानिसको शरीरले विश्राम खोज्छ, तर सत्य नारायणले आफ्ना आँखाहरूलाई किताबमा केन्द्रित गर्थे। दिनभरिको शारीरिक थकानलाई बिर्सेर उनी बत्तीको उज्यालोमा शान्त रातमा किताबहरूसँग जुध्ने गर्थे। भोक, अभाव र समयको चर्को अभावले उनलाई पटक-पटक हतोत्साहित बनाउन खोज्यो, तर उनको मनभित्र बलिरहेको डाक्टर बन्ने तीव्र चाहनाको ज्वाला कहिल्यै निभेन।

    दुई वर्षसम्म निरन्तर मजदुरी गर्दै स्वाध्ययन गरेका सत्यनारायणले काठमाडौं पुगेर एमबिबिएस प्रवेश परीक्षा दिए र पहिलो प्रयासमै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। उनको कोठामा किताबहरू ओछ्यान र तकियाजस्तै बनेका छन्, जसले उनको संघर्षलाई बोलिरहेजस्तो देखिन्छ।

    सत्यनारायणको सफलता यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनी दलित कोटाबाट एमबिबिएसमा नाम निकाल्ने पहिलो व्यक्ति होइनन्, तर संघर्ष, धैर्य र आत्मनिर्भर तयारीको कथा भने उनलाई विशेष बनाउँछ।

    डाक्टर बन्ने सपना उनको आमाको स्वास्थ्य समस्याबाट जन्मिएको हो। आमालाई बारम्बार टाउको दुख्ने समस्या हुँदा अस्पताल–अस्पताल धाउँदा सत्यनारायणले त्यहीँ प्रण गरेका थिए—‘म डाक्टर बन्छु।’ त्यतिबेला एमबिबिएस के हो भन्ने थाहा नहुँदा पनि अठोट बलियो थियो।

    यद्यपि पूर्ण छात्रवृत्तिमा नाम निस्किए पनि चुनौती अझै बाँकी छ। पढाइ शुल्क बाहेक आवास, खानपान, यातायात र अध्ययन सामग्रीमा ठूलो खर्च लाग्ने भएकाले परिवार चिन्तामा छ। साढे चार धुर घडेरी र पाँच कट्ठा बन्जर जमिनबाहेक परिवारसँग अन्य सम्पत्ति छैन। आमाले छिमेकीसँग ऋण लिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा छोराको नामांकन गराइसकेकी छन्।

    सत्यनारायणका बुबा मधुरी साफी सरकारसँग सहयोगको अपेक्षा राख्छन्। आमा सुनिता साफी छोराको सफलतामा गर्व त छ, तर पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन भन्छिन्।

    यि सबै कठिनाइका बीच सत्यनारायणको आत्मविश्वास भने अडिग छ। उनी भन्छन्, “राज्य र मनकारी महानुभावबाट सहयोग पाउने विश्वास छ। म आफैं मेहनत गरेर डाक्टर बन्छु।”

    उनको सफलताले गाउँभरि खुसी छाएको छ। सामाजिक अभियन्ता सन्तोष यादवका अनुसार सत्यनारायणको कथा विपन्न र सीमान्तकृत समुदायका युवाहरूका लागि प्रेरणा बनेको छ। उनी भन्छन्, “यो केवल सत्यनारायणको सपना होइन, यस भेगका सयौं जेहेनदार युवाहरूको आशा हो।”

    आरक्षणको संवैधानिक व्यवस्थाले मधेसी दलितजस्ता सीमान्तकृत समुदायलाई शिक्षा र अवसरको ढोका खोलेको सत्यनारायणको सफलताले पुष्टि गरेको छ। झुपडीबाट मेडिकल शिक्षासम्मको उनको यात्रा मेहनत, धैर्य र दृढ इच्छाशक्तिको जिउँदो उदाहरण बनेको छ।

    “पढ्नका लागि समय छैन” भन्नेहरूका लागि उनी एक गतिलो जवाफ बने। जहाँ पूर्ण समय ट्युसन र कोचिङ धाउने सम्पन्न विद्यार्थीहरू असफल भइरहेका हुन्थे, त्यहाँ सत्य नारायणले एक्लै, बिना कुनै महँगो स्रोतसाधन, केवल आत्मबलको भरमा आफूलाई तयार पारिरहे।

    चिकित्सा शिक्षा आयोगले लिने MBBS को प्रवेश परीक्षा अत्यन्तै प्रतिस्पर्धात्मक र कठिन मानिन्छ। तर सत्य नारायणको दृढ संकल्पको अगाडि कुनै पनि बाधा टिक्न सकेन। उनले आफ्नै बुतामा तयारी गरेर MBBS Full Scholarship मा नाम निकाल्न सफल भए।

    उनको यो सफलताले गरिबीलाई भाग्यको दोष मानेर बस्नेहरूका लागि एउटा बलियो झापड र संघर्ष गरिरहेका हजारौँ विद्यार्थीहरूका लागि आशाको नयाँ किरण छरेको छ।

    बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले गाउँपालिकाको परिषदबाट निर्णय गराएर पाँच वर्ष पढ्न लाग्ने खर्च जुटाउने विश्वास व्यक्त गरेका छन उउनले सत्यनारायण साफीको घर पुगेर नै यस्तो विश्वास दिलाएका हुन । यता ग्रिन एन्ड क्लिन फउन्डेसनका सञ्चालिका आशिका तामाङले घर पुगेर नै एक लाख नगद सहयोग गरेकि छिन ।

    प्रतिक्रिया दिनुहोस्