बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्य जाँचका क्रममा आफुलाई दुर्व्यवहार भएको आरोप लगाउँदै एक युवतीले मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मी गणेशबहादुर थापामाथि हातपात गरेको घटना बाहिरिएपछि नेपाल औषधि व्यवसायी संघ, बाँकेले उक्त कार्यको भर्त्सना गरेको छ।
कोहलपुर–११ स्थित थापा मेडिकलका सञ्चालक थापामाथि औषधि उपचारको विषयलाई लिएर बिरामी पक्षबाट हातपात, कुटपिट, गालीगलौज तथा चरित्रहत्या गर्ने किसिमको व्यवहार भएको भन्दै संघले घटनाको घोर भर्त्सना तथा निन्दा गरेको हो।
विशेषगरी घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सम्प्रेषण गरी व्यवसायीको व्यावसायिक तथा व्यक्तिगत चरित्रमै आँच पुर्याउने, काम भएको भन्दै संघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले औषधि व्यवसायीहरूले प्रचलित कानुनको अधीनमा रही निरन्तर स्वास्थ्य सेवा प्रदान गर्नुका साथै राज्यको समग्र विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराएको छ। यसरी औषधि व्यवसाय सञ्चालनकै क्रममा कुनै व्यक्ति वा समूहले पसलभित्रै प्रवेश गरी गैरकानुनी रूपमा हातपात, कुटपिट तथा अभद्र व्यवहार गर्नुले व्यवसायीको सुरक्षामाझ गम्भीर प्रश्न खडा गरेको संघको भनाइ छ।
औषधि व्यवसायीबाट कुनै गल्ती वा कसुर भएको भए निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन आफूहरूको पूर्ण सहमति रहने संघले स्पष्ट पारेको छ। तर कसैले लगाएको आरोपकै आधारमा, पर्याप्त प्रमाण र कानुनी निरूपणबिना व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक चरित्रहत्या गर्ने र सामाजिक सञ्जालमा भिडियो छरपस्ट पार्ने कार्य कदापि स्वीकार्य नहुने संघको ठहर छ।
संघका कार्यवाहक अध्यक्ष पवनकुमार बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ। संघले थापामाथि हातपात, कुटपिट तथा अभद्र व्यवहार गर्नेहरूका साथै सो घटनाको भिडियो सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने, गराउने व्यक्तिलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।
साथै, औषधि व्यवसायीहरूको व्यक्तिगत तथा पेसागत सुरक्षाको पूर्ण ग्यारेन्टी र सुनिश्चितता गर्न पनि संघले सम्बन्धित निकायसँग माग गरेको छ।



chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्