काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूमा धुम्रपानसम्बन्धी कानूनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
कार्यालयले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सुर्तीजन्य पदार्थको सेवन हुने गरेको र त्यसले धुम्रपान नगर्ने अन्य व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको गुनासो बढेपछि यस्तो कदम चालिएको जनाएको छ। प्रचलित कानूनको पालना नभएको गुनासो आएपछि सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
जारी सूचनाअनुसार अब जिल्लाभित्रका सबै होटल तथा रेष्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा देखिने गरी छुट्याउनुपर्नेछ। धुम्रपान गर्न मिल्ने तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुवाँ तथा असर अन्य व्यक्तिहरूमा नपर्ने गरी मात्र व्यवस्थापन गर्नुपर्नेछ।
यदि जिल्ला प्रशासन कार्यालय वा तोकिएका अन्य निकायबाट हुने अनुगमनका क्रममा ऐनविपरीत कार्य गरिएको पाइएमा कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी उक्त सूचनामार्फत सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई कानूनी प्रावधानहरूको पूर्ण पालना गर्न जोडदार आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्