अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् । उनले ककनीलाई फोहोर थुपार्ने स्थानका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गरी विकास, लगानी र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
राष्ट्रिय प्रेस क्लबले स्थानीय तहका समस्या र सम्भावनाबारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकलगायत क्षेत्रबाट उत्पादन हुने फोहोर ककनीले लामो समयदेखि व्यवस्थापन गर्दै आएको उल्लेख गरे। उनले फोहोर उत्पादन गर्ने क्षेत्रले नै त्यसको व्यवस्थापनको जिम्मेवारी र योगदान सुनिश्चित गर्नुपर्ने बताए ।
‘आफूले उत्पादन गरेको फोहोर अर्को नागरिकले वर्षौँसम्म निःशुल्क रूपमा सहनुपर्ने अवस्था न्यायपूर्ण हुन सक्दैन,’ न्यौपानेले भने । ककनीवासीले दुर्गन्ध, स्वास्थ्य समस्या र सामाजिक असर सहँदै आएको भन्दै उनले उनीहरूको योगदानको सम्मान हुनुपर्ने धारणा राखे ।
उनले ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र वडा नम्बर ३ का अध्यक्ष घनश्यामलगायत जनप्रतिनिधिहरूले परिवर्तनको चाहनासहित काम गरिरहेको भन्दै प्रशंसा गरे । स्थानीय तहले सडक निर्माणलगायत केही सकारात्मक काम अघि बढाए पनि ककनीमा गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको उनको भनाइ थियो ।
न्यौपानेले ककनीको विकासका लागि स्थानीय तहले दीर्घकालीन योजना बनाएर काठमाडौं उपत्यकाका स्थानीय सरकारहरूसँग सहकार्य गर्नुपर्ने सुझाव दिए । उनले ककनीले १० अर्ब, २० अर्ब वा ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनाको अवधारणा तयार गरी काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानीय सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने बताए ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्