सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ । ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् । वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।

पहिलो दिन: सदन, सरकार र संसदीय प्रक्रिया
पहिलो दिनको सत्र संसदीय कामकारबाही र समन्वयमा केन्द्रित रहनेछ:
- पार्टी, सरकार र सदनको समन्वय: महामन्त्री भूपदेव शाह (पार्टीको नीति र सरकारबीचको समन्वयकारी भूमिकाबारे)।
- संसदीय समितिको सक्रियता: संसदीय दलका उपनेता गणेश पराजुली (समितिहरूमा सांसदहरूले खेल्नुपर्ने भूमिकाबारे)।
- संसदीय अभ्यास र अनुभव: सांसद निशा डाँगी (दलीय समन्वयमा सचेतकको भूमिका र अभ्यासका विधिहरू)।
दोस्रो दिन: आचरण, कूटनीति र निर्वाचन रणनीति
दोस्रो दिनको सत्र राजनीतिक संस्कार र भविष्यको योजनामा केन्द्रित हुनेछ:
- राजनीतिक मनोविज्ञान र आचरण: सचेतक क्रान्तिशिखा धिताल (उच्च नैतिक आचरण र व्यवहारका बारेमा)।
- अन्तर्राष्ट्रिय कूटनीति र मर्यादा: परराष्ट्र मन्त्री शिशिर खनाल (कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षबारे)।
- स्थानीय निर्वाचन तयारी: सह–महामन्त्री विपिन कुमार आचार्य (वैज्ञानिक उम्मेदवार छनोटको रूपरेखा र आन्तरिक तयारीबारे कार्यपत्र)।
समापन सत्र
- विशेष निर्देशन: पार्टी सभापति रवि लामिछाने (सांसदहरूलाई आगामी कार्यदिशा र सदनमा भूमिकाबारे विशेष निर्देशनात्मक मन्तव्य)।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने छन् । सभापति लामिछानेले पार्टीको मुल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता र जनउत्तरदायी सांसदको रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे मार्गनिर्देशन गर्ने छन् ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्