बाँके। अपराध अनुसन्धान, शान्ति-सुरक्षा व्यवस्थापन र समग्र कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्याएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित भएका छन्।
७१ औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई प्रशंसापत्रसहित यो पुरस्कार प्रदान गरेका हुन्। जोखिमपूर्ण परिस्थितिमा व्यावसायिक निष्ठाका साथ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीलाई प्रदान गरिने यो सम्मान संगठनभित्रै अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।प्रहरी संगठनभित्र जोखिमपूर्ण तथा अनुकरणीय काम गर्ने अधिकारीहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ।
तस्कर र आपराधिक गतिविधिको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिने सीमावर्ती जिल्ला बाँकेको प्रहरी कमान्ड सम्हालेयता एसपी जिसीले जिल्लाको सुरक्षा व्यवस्था र अपराध नियन्त्रणको पाटोमा उल्लेखनीय सुधार ल्याएका छन्। एसपी जिसीलाई गत फागुनमा सम्पन्न निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराएको, शान्ति सुरक्षा सुदृढ बनाएको, जघन्य अपराधको अनुसन्धान गरेको र ५७७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको आधारमा यो पुरस्कार दिइएको हो।
प्रहरी प्रधान कार्यालयले मातहतका जिल्ला तथा निकायहरूको कार्यसम्पादनलाई पारदर्शी, वस्तुनिष्ठ र परिणाममुखी बनाउने उद्देश्यले गत पुसदेखि विशेष मूल्यांकन समिति गठन गरी नियमित समीक्षा गर्दै आएको छ। उक्त मूल्यांकन प्रणाली लागू भएयता पुसदेखि भदौसम्मको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय बाँके पाँच पटक प्रदेशभरिकै सर्वोत्कृष्ट जिल्ला बन्न सफल भएको छ।
विशेष गरी भदौ महिनाको कार्यसम्पादन मूल्यांकन रिपोर्ट अनुसार बाँके प्रहरीले ९०.४३ अंकको उच्च नतिजा ल्याउँदै देशभरिमै प्रथम स्थान हासिल गरेको थियो। एसपी जिसीलाई यो प्रतिष्ठित पुरस्कारको हकदार बनाउनुमा जिल्लामा भएका पेचिला र गम्भीर मानिएका आधा दर्जन हत्या प्रकरणको सफल अनुसन्धान मुख्य आधार बनेको छ।
एसपी जिसीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्याजस्ता आधा दर्जन गम्भीर अपराधहरूको अनुसन्धानमा सफलता हाँसिल गरेका छन। यस्ता जटिल र संवेदनशील घटनाहरूको सफल अनुसन्धान भएपछि जिल्लाको शान्ति-सुरक्षा र कानुनप्रतिको भरोसा थप सुदृढ बनेको छ।
हत्याजस्ता गम्भीर अपराधको सफल पर्दाफासका साथै बाँके क्षेत्रमा सञ्जाल फैलाएर बसेका ठूलो संख्याका लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्न र सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन पनि एसपी जिसीको कमान्ड सफल देखिएको छ।
आधा दर्जन हत्या घटनाको सफल अनुसन्धान, ५४४ जनाभन्दा बढी फरार अभियुक्तहरूको पक्राउ, लागूऔषध सञ्जाल नियन्त्रण र पुसयता पाँच पटक जिल्लालाई उत्कृष्ट बनाएको आधारमा नै मूल्यांकन समितिले उनलाई यो पुरस्कारका लागि सिफारिस गरेको हो।
एसपी अंगुर जिसीले पाएको यो सम्मानले जिल्ला प्रहरी कार्यालय बाँकेको सिङ्गो टोलीलाई नै आगामी दिनमा अझ जिम्मेवार र व्यावसायिक भएर काम गर्ने हौसला मिलेको छ।


ओम डिसी 















प्रतिक्रिया दिनुहोस्