images
  • त्रिशूली–३ ‘ए’को सुरुङभित्रबाट सुनियो थप आवाज

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र १९, शुक्रबार १०:२९ गते
    images

    काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएको छ । त्योसँगै उद्धार टोली भित्र प्रवेश गर्दै गरेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

    शुक्रबार (भदौ १९) बिहान यसअघि उक्त सुरुङभित्रबाट दुईजनालाई सकुशल उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।

    उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् । सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत रहेका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

    नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूलाई सकुशल बाहिर निकालेको थियो । त्यहाँबाट उपचारका निम्ति हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    “बाढी आएको १०औँ दिनमा भदौ १९ गते बिहान रसुवास्थित त्रिशूली–३ ‘ए’बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ,” सशस्त्र प्रहरीले भनेको छ ।

    ६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारी/कामदार फसेका आयोजनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्