• images
    images

    आत्मदाहदेखि आत्महत्यासम्म : आखिर किन यति निराश बन्दैछन् नेपाली नागरिक ?

    • chautaripatrika chautaripatrika
    • २०८३ असार ३०, मंगलवार १३:२८ गते
    images
    images
    images
    images

    देशमा चरम निराशा र मानसिक तनावका कारण आत्मदाह र आत्महत्याका दुःखद घटनाहरू शृङ्खलाबद्ध रूपमा बढ्न थालेका छन् ।

    गत बिहीबारमात्रै राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनाले सडकदेखि संसद्सम्म तताएको छ । यो घटना सेलाउन नपाउँदै काठमाडौंकै बुद्धनगरका अश्विन राउतले आत्मदाह गरे । यस्तै सर्लाहीमा पनि अर्का एक जनाले आत्मदाह गरे । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय विवेक मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भयो ।

    आखिर किन नागरिकहरू यस्तो आत्मघाती र पीडादायी निर्णय लिन बाध्य भइरहेका छन् नागरिक ? प्रश्न उठ्छ– आखिर युवाहरुलाई यो भयानक मोडसम्म पु¥याउने परिस्थिति किन बन्दैछ ?

    यस्तै अर्को तथ्याङक हेर्ने हो भने नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत मानसिक स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार तेस्रो सातासम्म सात हजार नागरिकले आत्महत्या गरिसकेका छन ।

    आत्मदाह र आत्मदाह प्रयासका घटना आफैंमा संवेदनशील छन्। चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र आत्मदाह प्रयास गरेको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्नमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

    रौतहटमा एक महिला र एक पुरुष, काठमाडौंका चार घटनामध्ये दुईमा महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक÷एक महिला, काभ्रेमा दुई महिला र दाङमा एक पुरुष र सर्लाहीमा २ जना पुरुष आत्मदाह प्रयास गरेका छन् ।

    तथ्याङ्कअनुसार ११ घटनामध्ये सात घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने चार घटनामा पुरुष संलग्न रहेका छन् ।

    यो तथ्याङ्कले नेपाल भित्रभित्रै मानसिक स्वास्थ्य र सामाजिक संकटको कति ठूलो ज्वालामुखीमाथि उभिएको छ भन्ने कुरालाई अकाट्य रूपमा प्रमाणित गरेको छ , वर्षमा ७ हजार नागरिकले आत्महत्या गर्नु र ११ जनाले आत्मदाहको बाटो रोज्नु एउटै गहिरो जननिराशाका दुईवटा डरलाग्दा रूप हुन् भन्दा फरक नपर्ला । एकातिर दैनिक औसत २० जना नेपालीले मानसिक तनाव र सामाजिक उत्पीडन सहन नसकेर आफ्नो जिवनलीला समाप्त गरिरहेका छन् भने अर्कोतिर सडकमै निस्किएर सार्वजनिक स्थलमा आफ्नै शरीरमा आगो झोस्ने आत्मघाती विद्रोह भइरहेको छ।

    यी दुवै प्रवृत्तिको जरो एउटै हो— समाजमा व्याप्त घोर अन्धकार, चरम बेरोजगारी, भविष्यप्रतिको अनिश्चितता र राज्य संयन्त्रप्रतिको पूर्ण अविश्वास, जसले गर्दा युवाहरू कि त भित्रभित्रै मानसिक रूपमा गलेर मौन मृत्यु रोजिरहेका छन् कि त बाहिर निस्किएर आगोको ज्वाला बन्दैछन्।

    मानिस यत्तिकै आफ्नो जीवन समाप्त गर्न वा शरीर जलाउन तयार हुँदैन; जब चारैतिरका सबै ढोकाहरू बन्द हुन्छन् र भित्र गुम्सिएको मानसिक पीडा एवं सामाजिक छटपटी असह्य बन्न पुग्छ, तब मात्र एउटा नागरिकले संसारलाई आफ्नो दुःख देखाउन र राज्यलाई ब्युँझाउन यी दुवै कहालीलाग्दा र कठोर बाटाहरू रोज्न विवश हुन्छ।

    यस भयावह स्थितिलाई तत्काल रोक्नका लागि अब समाज र राज्यले दुवै तहबाट आत्महत्या र आत्मदाह दुवै समस्यालाई सम्बोधन गर्ने गरी कदम चाल्न जरुरि छ।

    सबैभन्दा पहिले सामाजिक रूपमा मानसिक तनाव, डिप्रेसन, एन्जाइटी र आत्महत्याको सोचमा आमूल परिवर्तन ल्याउन देशव्यापी जनचेतनाको ठूलो अभियान सञ्चालन गर्नु आवश्यक भइसकेको छ।

    मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै संवेदनशील हो भन्ने कुरा बुझाउँदै प्रत्येक स्थानीय तह, वडा, विद्यालय र अस्पतालहरूमा विशेषज्ञसहितको सेवा दिने गरी निःशुल्क मानसिक परामर्श र संकटकालीन सहायता हेल्पलाइनहरू तत्काल सञ्चालन गरिनुपर्छ, ताकि मौन रूपमा आत्महत्याको सोच बनाइरहेका वा सडकमा आत्मदाह गर्ने स्थितिमा पुगेका निराश नागरिकले बिनाकुनै संकोच आफ्ना मनका कुरा राखेर नयाँ जीवनको ऊर्जा पाउन सकून्।

    यसका साथै सामाजिक रूपमा एक्लो परेका, घरेलु हिंसा, सामाजिक विभेद र उत्पीडनको सिकार भएका महिला तथा युवाहरूका लागि तत्काल भुइँतहसम्म सामाजिक सुरक्षा र कानुनी परामर्शको दह्रो संयन्त्र निर्माण नगरिएसम्म यस्ता दर्दनाक घटनाको शृङ्खला र निराशाको अँध्यारोलाई रोक्न कदैपि सम्भव हुने छैन।

    यस सम्पूर्ण अबस्थामा सबैभन्दा ठूलो र निर्णायक भूमिका त राज्य र सरकारकै हो, किनकि आफ्ना नागरिकको जिउधनको रक्षा गर्नु र उनीहरूलाई बाँच्ने आधार दिनु सरकारको पहिलो संवैधानिक दायित्व हो। राज्य केवल लासको संख्या गन्ने लाचार दर्शक मात्र बन्नु हुँदैन।

    सरकारले युवाहरूमा देशभित्रै काम गरेर आत्मसम्मानका साथ बाँच्न सकिन्छ र यहाँ जीवन सुरक्षित छ भन्ने दह्रो आशा र विश्वास जगाउनका लागि ठोस रोजगारी सिर्जना, व्यावहारिक सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य नीति र युवा केन्द्रित कार्यक्रमहरू तत्काल भुइँतहसम्म पुग्ने गरी कार्यान्वयनमा ल्याउनु जरुरि छ ।

    नागरिकलाई चरम मानसिक दबाब र मृत्युको मुखसम्म पुर्‍याउने सामाजिक विकृति, शोषण र उत्पीडन गर्नेहरूमाथि कडा कानुनी डण्डा चलाउँदै सरकारले नागरिकलाई ‘तिमी एक्लो छैनौ, तिम्रो रक्षाका लागि राज्य तिम्रो साथमा छ’ भन्ने बलियो अभिभावकत्व, आड भरोसा र ओत दिनैपर्छ।

    अन्यथा यो जननिराशा र आक्रोशको आगोले भोलि सिंगो राज्य संयन्त्रलाई नै गम्भीर संकटमा धकेल्ने खतरा भयानक रूपमा बढेर गएको छ।

    प्रतिक्रिया दिनुहोस्