नेपालले पछिल्लो समय राजनीतिमा एउटा रोचक र नयाँ प्रवृत्तिको उदय देखेको छ— ‘र्यापर युग’ । यस परिवर्तनको केन्द्रमा छन् बालेन शाह, जसले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिँदै सडकबाट सिस्टमसम्मको नेतृत्वलाई नयाँ अर्थ दिएका छन्।
संगीत, विशेषतः र्यापमार्फत जनतासँग जोडिँदै उनले सत्तामा बसेका शक्तिहरूमाथि निर्भीक प्रश्न उठाए । समाजका दबिएका आवाजलाई बाहिर ल्याए । र, निराश तथा असन्तुष्ट युवापुस्ताको प्रतिनिधित्व गरे। यही अभिव्यक्तिले बिस्तारै जनविश्वासको रूप लियो र उनलाई काठमाडौं महानगरपालिकाको मेयरसम्म पुर्यायो। आज उनको यात्रा प्रधानमन्त्रीको कुर्चीमा पुगेको छ । बालेन अहिले एक वैकल्पिक राजनीतिक सोच र नेतृत्वको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्।
यस्तै किसिमको परिवर्तनको संकेत दक्षिण भारतको तमिलनाडुमा पनि देखिएको छ । त्यहां सुपरस्टार विजय थलापतीले कला र राजनीतिबीचको दूरी घटाउने प्रयास गरिरहेका छन्। विजयले आफ्नो फिल्मी करिअरमा केवल मनोरञ्जन मात्र दिएनन्, बरु समाज, शासनप्रणाली र न्यायको विषयमा सशक्त सन्देशहरू पनि प्रस्तुत गर्दै आए । उनका फिल्महरूमा देखिने सामाजिक चेतना, भ्रष्टाचारविरुद्धको आवाज, र आदर्श राज्यको कल्पना—यी सबैले उनलाई दर्शकसँग मात्र होइन, मतदातासँग पनि गहिरो रूपमा जोड्ने आधार तयार पारेको छ।
उनले स्थापना गरेको Tamilaga Vettri Kazhagam को उदयलाई केवल सेलिब्रेटी राजनीतिक प्रवेशको रूपमा हेर्नु अपर्याप्त हुन्छ। प्रारम्भिक संकेतहरूले देखाउँछन् कि यो जनआकर्षण, सांस्कृतिक प्रभाव र भावनात्मक कनेक्शनको मिश्रणबाट बनेको एउटा नयाँ राजनीतिक प्रयोग हो। यहाँ कथा व्यक्तित्व, र जनविश्वासयी सबै परम्परागत विचारधाराभन्दा शक्तिशाली बन्दै गइरहेका छन्।
दक्षिण एसियाको सन्दर्भमा यो परिवर्तन अझ अर्थपूर्ण देखिन्छ। यहाँको राजनीति लामो समयदेखि स्थापित दल, वंशवाद र परम्परागत शक्ति संरचनामा आधारित रहँदै आएको छ। तर अहिले नयाँ पुस्ता नीतिभन्दा बढी ‘विश्वासयोग्य आवाज’ खोजिरहेको छ। उनीहरू त्यस्ता व्यक्तित्वलाई रोज्न थालेका छन्, जसलाई उनीहरूले पहिलेदेखि चिनेका छन्, सुनेका छन्, र आफ्नै भावनासँग जोड्न सकेका छन्। यही कारणले कला, मिडिया र सार्वजनिक जीवनबाट आएका पात्रहरू राजनीतिमा प्रभावशाली बन्दै गएका छन्।
यसरी हेर्दा, नेपालका बालेन शाह र भारतका विजय दुवै केवल व्यक्ति होइनन्—उनीहरू एउटा प्रवृत्तिका प्रतिनिधि हुन्। एउटा यस्तो प्रवृत्ति, जहाँ अभिव्यक्ति, जनसम्पर्क र सांस्कृतिक प्रभाव राजनीतिमा निर्णायक बन्दैछन्। यसले भविष्यको राजनीतिमा नयाँ ढाँचा निर्माण गर्न सक्छ, जहाँ परम्परागत शक्ति केन्द्रहरूलाई चुनौती दिँदै नयाँ नेतृत्व उदाउने सम्भावना बलियो हुँदै जान्छ।
अन्त्यमा हाम्रो एक प्रश्न—के हामी दक्षिण एसियामा राजनीतिक विकास को नयाँ चरणमा छौँ, वा यो नयाँ प्रकारको राजनीतिक क्रान्तिको सुरुवात हो ? हाम्रो यो छोटो विश्लेषण तपाईंको स्पष्ट प्रतिक्रियामा अपेक्षित छ।

Bishnu GC 















प्रतिक्रिया दिनुहोस्