• images
    images

    गीत फेरिए, गायक फेरिए, तर पर्दामा छाइरहे बिक्रम

    images
    images
    images
    images

    काठमाडौं – कुनै गीतमा प्रेममा रमाइरहेका, कुनैमा प्रेम गुमाएको पीडा बोकेका। कतै प्रतीक्षामा, कतै धोका पाएको पात्र। गीतसँगै कथा र चरित्र बदलिन्छन्, तर नेपाली म्युजिक भिडिओमा देखिने परिचित अनुहार भने वर्षौंदेखि उस्तै छ—बिक्रम बुढाथोकी।

    एक दशकभन्दा लामो समयदेखि म्युजिक भिडिओमा सक्रिय बिक्रमले अहिलेसम्म ५ सयभन्दा बढी गीतका भिडिओमा अभिनय गरिसकेका छन्। प्रेम र विरहका कथामा लगातार देखिँदा उनी दर्शकमाझ परिचित अनुहार बनेका हुन्।

    उनको करियरमा धेरै गायक–गायिकासँगको सहकार्य छ। तर प्रमोद खरेलसँगको सहकार्य विशेष छ। बिक्रमका अनुसार उनले प्रमोदको स्वरमा रहेका २ सयभन्दा बढी गीतका म्युजिक भिडिओमा अभिनय गरेका छन्। संयोगले उनका सर्वाधिक हेरिएका भिडिओमध्ये पनि प्रमोद खरेलका गीत उल्लेख्य छन्।

    प्रमोदका भावनात्मक गीतमा बिक्रमले प्रेमदेखि विछोडसम्मका विभिन्न चरित्र निभाएका छन्। यही निरन्तर सहकार्यले दुवैको कामलाई दर्शकमाझ परिचित बनाएको छ।

    ‘आई लभ यू’बाट सुरु भएको यात्रा

    बिक्रमको म्युजिक भिडिओ यात्रा **‘आई लभ यू’**बाट सुरु भएको हो। नरेश खातीको शब्द तथा संगीत र मेक्सम खातीको स्वरमा रहेको उक्त गीतबाट उनले अभिनयको सुरुआत गरे।

    दाङको धापुर, रत्नपुरमा बाल्यकाल बिताएका बिक्रमलाई सानैदेखि नृत्यमा रुचि थियो। स्कुलका कार्यक्रम र देउसी–भैलोमा नाच्ने उनी रोजगारीका लागि केही समय कतार पनि पुगे। त्यहाँ हुँदा पनि विभिन्न कार्यक्रममार्फत आफ्नो रुचिलाई निरन्तरता दिए।

    नेपाल फर्किँदा केही महिना बसेर फेरि विदेश जाने उनको योजना थियो। तर सुरुआती कामलाई दर्शकले रुचाएपछि उनले नेपालमै बसेर यही क्षेत्रमा केही गर्ने निर्णय गरे।

    ‘सुरूमा छ/सात महिना बस्छु, काम गर्छु अनि फेरि फर्किन्छु भन्ने सोचेको थिएँ। तर यहाँ काम गर्दै जाँदा एउटा नशाजस्तो हुन्छ,’ उनी सम्झन्छन्।

    सुरुआती चार–पाँचवटा कामले राम्रो प्रतिक्रिया पाएपछि आफूलाई यही क्षेत्रमा सम्भावना देखिएको उनले बताए।

    एउटा सफल गीत, बढ्दो अवसर

    सन्तोष केसीसँगको सहकार्यमा आएको ‘जसलाई धेरै माया गर्थे’ बिक्रमको करियरको महत्वपूर्ण मोड बन्यो। उनको करियरमा करोड क्लबमा पुग्ने यो पहिलो गीत थियो।

    त्यसपछि शिव परियारको ‘धोकेबाज’, रमेशराज भट्टराईको ‘टन्न पैसा कमाउन मन थ्यो’ लगायतका गीतमा पनि उनको अभिनय रुचाइयो।

    उनले शिव परियार, अञ्जु पन्त, स्वरूपराज आचार्य, प्रताप दास, निशान भट्टराई, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, प्रविशा अधिकारीलगायतका कलाकारका गीतमा काम गरेका छन्।

    दर्शकको पहिचान नै ठूलो उपलब्धि

    लामो समय म्युजिक भिडिओमा बिताएका बिक्रम आर्थिक उपलब्धिभन्दा दर्शकले दिएको पहिचानलाई ठूलो मान्छन्।

    ‘यो क्षेत्रले मलाई जति दिनुपर्ने हो, त्योभन्दा बढी दिएको जस्तो लाग्छ। सरल तरिकाले काम गर्दा पनि दर्शकले रुचाइदिएपछि काम हुँदो रहेछ भन्ने मैले यहीँबाट सिकेको छु,’ उनी भन्छन्।

    उनले विभिन्न अवार्ड तथा सम्मान पनि प्राप्त गरेका छन्। हालै चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३ बाट उनले ‘दशकका सम्मान’ पाएका छन्।

    पाँच सयभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसक्दा पनि बिक्रमको यात्रा रोकिएको छैन। उनका लागि यी संख्या केवल तथ्यांक होइनन्—वर्षौंसम्म दर्शकले दिएको निरन्तर माया र स्वीकारोक्तिका प्रमाण हुन्।

    प्रतिक्रिया दिनुहोस्